काठमाडौं, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन् । पीडित परिवारले क्षतिपूर्ति, रोजगारी र घाइतेको उपचारको व्यवस्था गर्नुपर्ने माग राख्दै शव बुझ्न नमानेका हुन् ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय हाइस सडकबाट करिब पाँच सय मिटर तल खस्दा चालकसहित १४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका रहेका छन् ।
मृतकका आफन्तले प्रत्येक पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन् ।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको परिवारले शव बुझिसकेको छ भने बाँकी १३ जनाको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि शव हस्तान्तरण प्रक्रिया अघि बढ्न सकेको छैन । पीडित परिवारका माग र क्षतिपूर्तिका विषयमा पुनः छलफल गर्ने तयारी गरिएको छ ।
छठ पर्व मनाउन काठमाडौंमा रहेका आफन्तसहित गाउँ फर्किने क्रममा भएको दुर्घटनाले सर्लाहीको सुन्दरपुर गाउँ शोकमा डुबेको छ । एउटै गाउँका १३ जनाको मृत्यु भएपछि पीडित परिवारले राज्यबाट उचित राहत र न्यायको माग गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्