जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार १२:२२

चितवन र कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटना : दुई महिलाको मृत्यु, ६ जना घाइते


काठमाडौं, कात्तिक २७। चितवन र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। नेपाल प्रहरीले दिएको जानकारीअनुसार चितवनमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिला र कैलालीमा मोटरसाइकल तथा स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक महिलाको मृत्यु भएको हो।

चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा आज बिहान करिब ९ बजे भएको दुर्घटनामा ३० वर्षीया पार्वती भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–१५ निवासी भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान ९ः५४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही दुर्घटनामा अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक हिजो साँझ करिब ७ बजे मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक ३५ वर्षीया सुशिला बमको मृत्यु भएको छ।

धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा दुवै सवारीसाधनमा सवार गरी पाँच जना घाइते भएका थिए।

घाइतेहरूलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी बमलाई थप उपचारका लागि  आज बिहान २ः२६ बजे मायामेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

दुवै दुर्घटनामा संलग्न सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।