जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार १७:२८

‘बालेन सरकार सम्हालिएर नचले छिट्टै हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउँछ’


काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बालेन सरकार आफ्नो शैलीमा आमुल सुधार नगरे छिटै हेलिकोप्टर चढेर भाग्नुपर्ने चेतावनी दिनुभएको छ ।

शिवाकोटीले सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको ठोकुवासमेत गर्नुभएको छ । ‘सरकारले अहिलेको जस्तो गतिविधि नसच्याए गत भदौ २४ मा जस्तै अहिलेको सरकारको नेतृत्व गरेकाहरुले हेलिकप्टर चढेर भाग्नुपर्ने परिस्थिति आउनसक्छ,’ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री शिवाकोटीले भन्नुभयो ।

उहाँले जेनजी आन्दोलनपछि पनि देशको अवस्था अझै साम्य भइनसकेको बताउनु भयो । ‘अहिले पनि देश सम्हालिएको छैन। यो कुनै पनि बेलामा भुसको आगो जसरी सल्किनसक्छ भन्ने कुरा सरकारले बुझोस् । यो कुनै पनि स्वरूपमा आन्दोलन वा विद्रोह हुनसक्छ,’ शिवाकोटीले भन्नुभयो ।

यस्तै उहाँले लोकतन्त्र निर्वाचनबाट जनप्रतिनिधि चुन्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्र सीमित नहुने बताउनु भयो । ‘लोकतन्त्रका आधारभूत मान्यता, विधि, पद्धति र संस्थागत स्वतन्त्रताको सम्मान पनि उत्तिकै आवश्यक छ । सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहेको छ,’ शिवाकोटीले भन्नुभयो, ‘राज्यका निकाय, संवैधानिक अङ्ग, सञ्चारमाध्यम र कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढाइएको छ ।’

कर्मचारीतन्त्रलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको र कर्मचारीहरू त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य भएको पनि उहाँले आरोप लगाउनु भयो । दुई तिहाइ निकटको बहुमतसहित आएको सरकार आफ्नै राजनीतिक भार सम्हाल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।

यस्तै शिवाकोटीले सरकार र सरकार सञ्चालन गर्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समन्वयको अभाव देखिएको बताए। सरकार र पार्टीका तर्फबाट सार्वजनिक भइरहेका धारणा तथा स्पष्टीकरणमा समेत तालमेल नरहेको बताउनु भयो ।

‘सरकारलाई आज सरकार चलाउन गाह्रो भइरहेको छ। रास्वपालाई मेरो सरकार हो कि अर्काको सरकार हो भन्ने अवस्थामा ऊ पुगेको छ । सरकारलाई आफ्नै पार्टीले सहयोग गरिरहेको छैन भन्ने आधारमा त्यहाँभित्र यो पक्ष र त्यो पक्ष भन्ने अवस्था सिर्जना भएको छ,’ सहमहामन्त्री शिवाकोटीको भनाई थियो ।

उहाँले सरकारमाथि उठेका प्रश्नहरूबाट ध्यान मोड्न बालुवाटार र ज्वागलबाट प्रचार अभियान सञ्चालन भइरहेको आरोपसमेत लगाउनु भयो । प्रधानमन्त्री र उनका निकट व्यक्तिहरू तथा प्रमुख सल्लाहकारमार्फत भइरहेको भनिएको प्रचारले लोकतन्त्रलाई बलियो बनाउने काम नगरेको उहाँको भनाई छ ।

सरकारले प्रश्न रोक्नको लागि कांग्रेसलाई लक्षित गरी घेराबन्दी र बदनाम गर्ने प्रयास भइरहेको दाबी पनि गर्नुभयो । विगतमा आफूसँगै काम गरेका व्यक्तिहरूलाई एजेन्टका रूपमा प्रयोग गरेर कांग्रेसलाई क्षति पुर्याउने प्रयास भएको शिवाकोटीको भनाई थियो ।