जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार २०:२३

बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा रातिको सवारी सञ्चालनमा कडाइ, बिहान ५ बजेपछि मात्रै चलाउन पाइने


काठमाडौं, कात्तिक २७ । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सडकखण्डमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालनमा समयसीमा तोकेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारी साधन बिहान ५ बजेपछि मात्रै सञ्चालन गर्न र बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने व्यवस्था गरेको हो ।

पछिल्लो समय उक्त सडकखण्डमा साँघुरो सडक, भिरालो तथा घुम्ती, सवारी साधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति र रातिको समयमा अपर्याप्त प्रकाशका कारण दुर्घटना बढ्दै गएको प्रशासनले जनाएको छ ।

त्यस्तै, एकै दिनमा धेरै पटक ओहोरदोहोर गर्नुपर्ने दबाबका कारण चालकमा उत्पन्न हुने थकान, तनाव तथा अनिद्रा र मादक पदार्थ एवं लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्तिले समेत यात्रु तथा चालकको सुरक्षामा जोखिम बढाएको प्रशासनको भनाइ छ । यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त समयसीमा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक सार्वजनिक सवारी साधनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, काठमाडौं जिल्लाभित्र उक्त सडकखण्डमा पर्ने प्रहरी इकाइ तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारी साधनको अनिवार्य र कडाइका साथ जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । प्रशासनले सवारी दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण तथा यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित सबैलाई जारी निर्देशन पालना गर्न आग्रह गरेको छ ।