जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार २०:३९

एनपिएल : जनकपुरलाई हराउँदा चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर र कर्णाली बाहिरिए


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । हारसँगै जनकपुर प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ भने कर्णाली याक्सको यात्रा पनि समूह चरणमै समाप्त भएको छ ।

जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा डेविड मलानले अविजित ३५ रन बनाए । कुशल मल्लले १५ तथा रवि बोपाराले १३ रनको योगदान दिए ।

बलिङतर्फ जनकपुरका राहुल यादवले तीन, ललित राजवंशीले दुई तथा विशाल सुश्लिङले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि हरमीत सिंहले सर्वाधिक २५, विशाल सुश्लिङले १५ तथा राहुल यादव र सन्तोष कार्कीले समान १० रन बनाए ।

चितवनका रञ्जित कुमारले तीन विकेट लिए भने सिकन्दर रजा र कुशल मल्लले दुई–दुई तथा कमल ऐरी र रिजन ढकालले एक–एक विकेट हात पारे ।

यस हारसँगै जनकपुरले सात खेलमा दुई जित र पाँच हार बेहोर्दै प्रतियोगिताको प्लेअफ दौड समाप्त गरेको छ ।

यस्तै, जनकपुरको हारपछि कर्णाली याक्स पनि प्लेअफ दौडबाट बाहिरिएको छ । ६ खेलबाट चार अंक जोडेको कर्णालीले अन्तिम खेल जिते पनि अधिकतम ६ अंक मात्रै पुर्‍याउन सक्ने भएकाले प्लेअफमा स्थान बनाउन नसक्ने भएको हो ।

चितवनको भने एक खेल बाँकी छ । उसले अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ । उक्त खेलमा जित हात पारे चितवन प्लेअफमा प्रवेश गर्नेछ ।