जनता टाइम्स

२८ कार्तिक २०८३, शनिबार ०८:२८

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका सर्लाही सुन्दरपुरका १२ जनाको लखन्देही नदीमा सामूहिक अन्त्येष्टि


सर्लाही, कात्तिक २८ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय हाइस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १२ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । मृतकहरूको शव लखन्देही नदीमा सामूहिक रूपमा अन्त्येष्टि गरिएको हो ।

एकै गाउँका १२ जनाको दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुरटोल शोकमा डुबेको छ । एउटै परिवार तथा गाउँका आफन्तजन गुमाउनुपर्दा स्थानीयवासी, परिवारका सदस्य र आफन्तहरू गहिरो पीडामा परेका छन् । सामूहिक अन्त्येष्टिका क्रममा गाउँमा शोकाकुल वातावरण बनेको थियो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान करिब ५ः४५ बजे भएको उक्त दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए । मृतकमध्ये एक जना हाइस चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का रविशंकर कुमार मण्डल र १३ जना चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका रहेका थिए ।

मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा लगेर अन्तिम संस्कार गरिएकाे हाे भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा–४ मै लगिएको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।