काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा उपद्रो, आगजनी, तोडफोड र लुटपाटबाट परिवर्तन खोज्ने प्रवृत्ति देखिएको बताउनु भएकाे छ ।
उहाँले विनाश र संहारलाई परिवर्तनका रूपमा व्याख्या गर्ने प्रवृत्ति बढेको टिप्पणी गर्नुभयाे । ओलीले भन्नुभयो, ‘देशमा उपद्रो, आगजनी, तोडफोड र लुटपाटबाट परिवर्तन खोजिँदै छ । विनाश र संहारलाई परिवर्तन भन्ने प्रवृत्ति देखिएको छ ।’
नेकपा एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अहिले प्रतिकूल परिस्थितिमा रहे पनि आगामी निर्वाचनलाई लक्षित गरेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विगतमा एमालेमाथि चौतर्फी संयुक्त हमला भएको दाबी गर्दै भन्नुभयो, ‘हामीमाथि पार्टी भित्रै र बाहिरबाट हमला हुँदा हामीले धोका खायौँ । हामीमाथि चौतर्फी संयुक्त हमला थियो । हाम्रा विरोधीहरूले हामीमाथि निर्णायक हमला गरे ।’
आगजनी र लुटपाटमा संलग्नहरू देशभित्रैका रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘आगो लगाउनेमा को–को समावेश थिए ? लुट्नेहरूमा को–को सामेल थिए, मैले भनिरहनु पर्दैन । विदेशबाट आएर आगो लगाएका होइनन् । केही हजार मानिसहरूले देशव्यापी रूपमा सरकारी संरचनामा आगो लगाए ।’

उहाँले लोकतन्त्र र लोकतान्त्रिक राजनीतिक दलमाथि ठूलो आक्रमण भएको दाबी गर्दै असंवैधानिक बाटोबाट सरकार गठन गरिएको बताउनुभयाे । ‘लोकतन्त्र र लोकतान्त्रिक पार्टीमाथि यति धेरै आक्रमण भयो । त्यसकै प्रतिनिधिहरूले असंवैधानिक बाटोबाट सरकार बनाएर असंवैधानिक प्रधानमन्त्रीको व्यक्तिगत सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो र त्यसलाई क्रान्ति भन्न चुनाव मञ्चन गरियो,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको निष्पक्षतामाथि समेत प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव वास्तवमा चुनाव भएन । आतंकका बीचमा राज्य संयन्त्रको प्रयोग गरेर मनोवैज्ञानिक त्रास सिर्जना गरेर चुनाव कब्जा गरियो । शान्तिपूर्ण ढंगले चुनाव कब्जा गरियो र त्यसलाई आधिकारिकता दिन सरकार बनाइयो ।’
आगामी निर्वाचनहरू एमालेका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह, प्रदेशसभा र राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर पार्टीले अहिलेदेखि नै तयारी गर्नुपर्ने बताउनुभयो । ‘केही महिनापछि स्थानीय तहको निर्वाचन हुन्छ । एक वर्षपछि प्रदेशसभाको निर्वाचन हुन्छ । त्यसपछि तुरुन्तै राष्ट्रपतिको निर्वाचन हुँदै छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण हामी यसमा योजनाबद्ध ढंगले लाग्न जरुरी छ ।’
स्थानीय तहको निर्वाचनले स्थानीय तहकाे विकासका काम मात्र गर्ने नभइ राष्ट्रियसभा सदस्यका मतदाता तयार गर्ने भएकाले यसको महत्व अझ बढी रहेको उहाँको भनाइ थियो । ‘स्थानीय तहको निर्वाचन भनेको राष्ट्रियसभाको निर्वाचन पनि हो । तिनै स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गर्ने हो । त्यसकारण यो निर्वाचन राष्ट्रियसभाका मतदाता तयार गर्ने निर्वाचन पनि हो,’ ओलीले भन्नुभयो ।

गत निर्वाचनको तुलनामा अहिले एमालेका लागि धेरै अनुकूलता थपिएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘हामीसँग यतिबेला थुप्रै अनुकूलता थपिएका छन् । गत निर्वाचनको भन्दा थुप्रै अनुकूलता थपिएका छन् । त्यस स्तरको त्रासको वातावरण अहिले छैन । यद्यपि सरकारको स्वेच्छाचारिता र फासीवादको यात्रामा कुनै कमी आएको छैन ।’
सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै उहाँले प्रहरी महानिरीक्षक हटाइएको र विभिन्न छानबिनका नाममा गतिविधि भइरहेको टिप्पणी गर्नुभयो । ‘एकातिर समिति बन्ने, छानबिन गर्ने काम चलिरहेको छ । अर्कोतिर आईजीपीलाई हटाइसकिएको छ,’ उहाँले भन्नुभयो ।
आफूलाई सरकार गठन भएकै दिन गिरफ्तार गरिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले १३ दिनसम्म विभिन्न मुद्दामा फसाउने प्रयास भएको दाबी गर्नुभयो । ‘सरकार बनेकै दिन मलाई स्वेच्छाचारी ढंगले गिरफ्तार गरे । १३ दिनसम्म अनेक मुद्दा लगाउन खोजे । केही उपाय नलागेपछि छाडे,’ उहाँले भन्नुभयो ।
सरकारले उद्यमी तथा व्यवसायीलाई समेत दुःख दिएको बताउँदै उहाँले विकास निर्माणका काम प्रभावित भएको बताउनुभयो । दैलेखको ग्यास खानी सञ्चालनमा ढिलाइ गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘दैलेखको ग्यास खानीले यतिबेलासम्म उत्पादन दिइसक्थ्यो तर काम रोकेर राखिएको छ । विकासका काम रोकिएको छ । कतिपय ठेक्का रोकिएका छन् ।’














प्रतिक्रिया दिनुहोस्