काठमाडौं, कात्तिक २८ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री यादवले आजै प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर, विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत नपुग्ने अवस्था देखिएपछि उहाँले विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिनुभएको हो ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । तर, हाल कायम १०३ सांसदमध्ये मुख्यमन्त्री यादव नेतृत्वको नेपाली कांग्रेसका २२ जना सांसद मात्रै छन् ।
नेकपा एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्तापछि आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था बनेसँगै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । प्रदेशसभामा २८ सिटसहित जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । जसपाको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ ।
मधेश प्रदेशसभामा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद रहेका छन् । त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।
मधेश प्रदेशको राजनीतिक समीकरण फेरि र नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल तीव्र भइरहेकाे छ । नेकपा एमाले, नेकपा र जनमत पार्टी मिलेर सरकार बनाउने तयारी गरिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्