जनता टाइम्स

२८ कार्तिक २०८३, शनिबार १६:४०

स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ : महेश बस्नेत


काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । 

उहाँले पार्टीको संगठन सुदृढीकरण, विगतका विकास निर्माणका काम र राजनीतिक एजेन्डासहित जनतामाझ जाने तयारी भइरहेको बताउनुभयाे । एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै सचिव बस्नेतले मंसिर २ र ३ गते आयोजना हुन लागेको पार्टीको राष्ट्रिय भेलाले निर्वाचनमा पहिलो पार्टी बन्ने र सरकारका जनविरोधी गतिविधिविरुद्ध संघर्ष गर्ने सन्देश लिएर जाने बताउनुभयो ।

उहाँले एमालेका आगामी दुई प्रमुख कार्यभार प्रस्तुत गर्दै भन्नुभयो, ‘पहिलो, विगतमा पार्टीले गरेका विकास निर्माणका काम र आफ्ना राजनीतिक एजेन्डा लिएर जनतामाझ जाने तथा निर्वाचनमा पहिलो पार्टी बन्ने, दोस्रो, सरकारका जनविरोधी गतिविधिविरुद्ध अन्य विचार मिल्ने दलहरूसँग चुनावी कार्यगत एकता र संयुक्त आन्दोलन गर्ने ।’

वर्तमान सरकारको कुशासन र जनविरोधी गतिविधिको भण्डाफोर गर्दै समान विचार भएका राजनीतिक दलहरूसँग सहकार्य र संयुक्त संघर्षका कार्यक्रम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

संगठन सुदृढीकरणका लागि एमालेले वडा तथा पालिका तहका अधिवेशनलाई व्यवस्थित बनाउने तयारी गरेको पनि उहाँले बताउनुभयो । अधिवेशनका क्रममा नेताहरूले छुट्टाछुट्टै समूह बनाएर गुटगत प्रतिस्पर्धाको सन्देश दिन नहुने उहाँको भनाइ थियो । पार्टीभित्रको एकता र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सचिव बस्नेतले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा एमालेको भूमिका महत्वपूर्ण रहेको दाबी गर्नुभयो । पीडितका नाममा प्राप्त रकम दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिँदै उहाँले बाढीपीडितका लागि बागमती प्रदेश सरकारले विभिन्न काम गरिरहँदा संघीय सरकारको उपस्थिति नदेखिएको टिप्पणी गर्नुभयो । ‘बागमती प्रदेश सरकारले रसुवाका बाढीपीडितका लागि थुप्रै काम गरेको छ तर, संघीय सरकार कहाँ छ भन्ने देखिएको छैन,’ उहाँले भन्नुभयो । पीडितका नाममा आएको रकम पारदर्शी रूपमा खर्च गर्नुपर्ने उहाँको माग थियो ।

सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै बस्नेतले नौ महिनाको अवधिमा संघीय सरकारले देखिने गरी कुनै काम गर्न नसकेको बताउनुभयाे । स्थानीय तह र प्रदेश सरकारमा नहुँदा विकास हुन नसक्नुको कारण देखाएर आगामी निर्वाचनमा जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको उहाँको दाबी थियो ।

उहाँले नौ महिनामै काम गर्न सकिँदैन भन्नेहरूलाई पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले गरेको काम स्मरण गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री र मन्त्रीहरूको चयन प्रक्रियामाथि व्यंग्य गर्दै उहाँले भन्नुभयाे ‘चाउचाउको प्याकेटको कुपनमा चिट्ठा परेका प्रधानमन्त्री र मन्त्री भएको देशमा विकासको आशा गर्न सकिँदैन ।’

सचिव बस्नेतले सहकारी क्षेत्रको संकट र त्यसले अर्थतन्त्रमा पारेको प्रभावबारे पनि टिप्पणी गर्नुभयो । उहाँले रवि लामिछानेको नाम उल्लेख गर्दै सहकारी क्षेत्रलाई तहसनहस बनाउने काम भएको आरोप लगाउनुभयो । सहकारीलाई विकासका तीनवटा प्रमुख आधारमध्ये एकका रूपमा व्याख्या गर्दै उहाँले यसको संकटले समग्र अर्थतन्त्रमा असर पारेको बताउनुभयो ।

वर्तमान सरकारको नौमहिने कार्यकाललाई असफलताको संज्ञा दिँदै उहाँले सरकारको कार्यशैली अधिनायकवाद, निरंकुशता र प्रतिशोधतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । ‘यो नौमहिने कार्यकाल बालेनको असफल कार्यकाल हो, यो अधिनायकवादतर्फको यात्रा हो, निरंकुशतातर्फको यात्रा हो र प्रतिशोधतर्फको यात्रा हो,’ उहाँले भन्नुभयो ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताको निराश बनेको सपनालाई पुनः जगाउने काम गरेको दाबी गर्दै बस्नेतले त्यसबेला भएका पूर्वाधार विकास र राष्ट्रियतासम्बन्धी कामको चर्चा गर्नुभयो । एमालेको शासनकाललाई नेपालको विकासको स्वर्णिम कालका रूपमा चित्रण गर्दै उहाँले विगतका उपलब्धि लिएर जनतामाझ जानुपर्ने बताउनुभयो ।

वर्तमान सरकारप्रति आलोचना गर्दै उहाँले सरकारको आयु लामो नरहेको दाबी गर्नुभयो । ‘भ्रममा बाँचेको र अपराध कर्ममा संलग्न वर्तमान सरकारको आयु अब धेरै छैन,’ उहाँले भन्नुभयो, ‘यो सरकारलाई नयाँ वर्ष देख्न दिनु हुँदैन ।’

उहाँले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई संगठन निर्माण, जनसम्पर्क विस्तार र राजनीतिक एजेन्डासहित जनतामाझ सक्रिय हुन आग्रह गर्नुभयो ।