किनकि पार्टी बलियो हुने बाटो नेताको पदबाट होइन, कार्यकर्ताको मनसम्म पुग्ने यात्राबाट सुरु हुन्छ । कार्यकर्ताको मन जनताको मनमा पुग्छ
डा. टीका ढकाल
कहिलेकाहीँ एउटा यात्राले सयौँ भाषणभन्दा गहिरो सन्देश दिन्छ । कहिलेकाहीँ बाटोमा भेटिएको एउटा सामान्य कार्यकर्ताको अभिव्यक्तिले पार्टी, नेतृत्व र आन्दोलनबारे गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाउँछ । मेरो पछिल्लो गिम्दी यात्राले यस्तै अविस्मरणीय अनुभूति र गहिरो सन्देश दिएको छ ।
नेकपा एमाले बागमती गाउँपालिका कमिटीको इञ्चार्जको जिम्मेवारीमा रहेर ललितपुरको बागमती गाउँपालिका वडा नं. ७, गिम्दीमा वडा अधिवेशन सम्पन्न गराउन पुग्दाको अनुभव मेरो स्मृतिमा लामो समयसम्म रहिरहनेछ ।
ललितपुर सदरमुकामबाट सबैभन्दा टाढा पर्ने गिम्दीसम्म पुग्न आज पनि सहज छैन । कच्ची सडक, उकालो–ओरालो र कठिन भौगोलिक अवस्थालाई पार गर्दै त्यहाँ पुग्नुपर्छ । यात्राका अनेक असहजता र थकानलाई सामान्य मानेरै गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता छ । अधिवेशन सम्पन्न गरेर फर्किंदा झन्डै १२ घण्टा बितिसकेको थियो । स्थानीय साथीहरूका अनुसार पार्टीको इतिहासमा यति छोटो समयमा अधिवेशन सम्पन्न भएको यो पहिलो अनुभव रहेछ ।
तर यो यात्राको सबैभन्दा महत्वपूर्ण उपलब्धि अधिवेशन समयमै सम्पन्न हुनु मात्र थिएन । त्यहाँका कार्यकर्ताको पार्टीप्रतिको निष्ठा, उत्साह, समर्पण र अटुट विश्वासलाई नजिकबाट अनुभूत गर्न पाउनु थियो ।
गिम्दी पुग्दा अभाव र कठिनाइका बीच पनि कार्यकर्ताको अनुहारमा देखिएको उत्साहले मन गर्वले भरियो । उनीहरूसँग सुविधा थिएन, सहजता थिएन, तर पार्टीप्रतिको आत्मीयता र विचारप्रतिको प्रतिबद्धतामा कुनै कमी थिएन । कठिन भूगोल र सीमित साधनस्रोतका बीच पनि उनीहरू संगठन निर्माणमा निरन्तर खटिरहेका थिए ।
तर फर्किने क्रममा एउटा घटनाले मेरो मनलाई झनै गहिरोसँग छोयो । एक जना कार्यकर्ता चार घण्टा पैदल हिँडेर वडा अधिवेशनमा सहभागी हुन आउनुभएको रहेछ । अधिवेशन सम्पन्न भएपछि उहाँ फेरि चार घण्टा पैदल हिँडेरै घर फर्किंदै हुनुहुन्थ्यो । अर्थात्, पार्टीको एउटा संगठनात्मक कार्यक्रममा सहभागी हुन उहाँले आफ्नो जीवनका आठ घण्टा पैदल यात्रामा समर्पित गर्नुभएको थियो ।
हामीसँग बिदा हुने क्रममा उहाँले भन्नुभयो, ‘हामी यहाँ यति दुःख गरेर पार्टीका लागि काम गर्छौं, माथि–माथि तपाईंहरू राम्रो गर्नुहोस् ।’ उहाँका यी सामान्य शब्दभित्र असाधारण भावना लुकेको थियो । त्यसमा गुनासोभन्दा अपेक्षा बढी थियो, निराशाभन्दा सुधारको चाहना बढी थियो र आलोचनाभन्दा नेतृत्वप्रतिको भरोसा बढी थियो ।

उहाँको भनाइको अन्तर्य स्पष्ट थियो–हामी आफ्नो ठाउँबाट पार्टीका लागि दुःख गरिरहेका छौं, पसिना बगाइरहेका छौं, संगठन जोगाइरहेका छौं, अब नेतृत्वले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरोस् ।
उहाँहरूमा नेकपा एमालेले नै देश बनाउन सक्छ भन्ने विश्वास अझै जीवित थियो । तर त्यो विश्वासलाई व्यवहारमा प्रमाणित गर्ने जिम्मेवारी नेतृत्वको हो भन्ने अपेक्षा पनि उत्तिकै प्रबल थियो ।
कार्यकर्ताको निष्ठा बाँकी छ, नेतृत्वले विश्वास जोगाउन सक्नुपर्छ
गिम्दीका साथीहरूसँगको कुराकानीमा अर्को गम्भीर विषय पनि उठ्यो । उनीहरूले राजनीतिमा लामो समयदेखि देखिँदै आएको एउटा प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । चुनावका बेला जनताको घरदैलोमा पुग्ने, अनेक आश्वासन बाँड्ने र चुनाव जितेपछि जनताबाट टाढिने रोग नयाँ राजनीतिक शक्तिका प्रतिनिधिहरूमा पनि देखिन थालेको उनीहरूको गुनासो थियो ।
जनतालाई चुनावका बेला गरिने भाषण र आश्वासन मात्र चाहिएको छैन । उनीहरूलाई दुःख–सुखमा साथ दिने, समस्या सुन्ने, बिरामी पर्दा खबर लिने र अप्ठ्यारोमा सहयोगका लागि उभिने नेतृत्व चाहिएको छ ।
गिम्दीका साथीहरूको अनुभवमा गाउँमा कसैलाई समस्या पर्दा स्थानीय एमालेका कार्यकर्ता नै सबैभन्दा पहिले साथमा उभिने गरेका छन् । यही आत्मीयता, यही सामाजिक सम्बन्ध र यही सेवाभावले पार्टीलाई जनताको बीचमा जीवित राखेको छ । यसले मलाई एउटा महत्वपूर्ण निष्कर्षमा पुर्यायो–नेकपा एमालेको वास्तविक शक्ति उसका नेता, पद र प्रतिष्ठामा मात्र होइन, गाउँका कुनाकाप्चामा कठिनाइ सहेर पनि विचारको झन्डा उठाइरहेका निष्ठावान् कार्यकर्तामा छ ।
पार्टीका लागि बाटो नहेरी हिँड्ने, व्यक्तिगत स्वार्थभन्दा सामूहिक उद्देश्यलाई माथि राख्ने र जिम्मेवारी पाए पनि नपाए पनि संगठनका लागि खटिरहने कार्यकर्ताहरू नै एमालेका वास्तविक सम्पत्ति हुन् । तर विगतको योगदानले वर्तमानका कमजोरी ढाक्न मिल्दैन । कार्यकर्ताको त्यागको इतिहास सुनाएर मात्र वर्तमानको जिम्मेवारी पूरा हुँदैन । उनीहरूको निष्ठाको सम्मान भाषणबाट होइन, व्यवहारबाट हुनुपर्छ । त्यसैले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ ।
जनतासँगको सम्बन्ध, नेतृत्वको कार्यशैली, जिम्मेवारी वितरण, निर्णय प्रक्रिया, सामूहिकता र जवाफदेहितामा सुधार अपरिहार्य छ । कार्यकर्ताको आवाज सुनिनुपर्छ । योग्यताको सम्मान हुनुपर्छ । योगदानको उचित मूल्याङ्कन हुनुपर्छ । जिम्मेवारी वितरणमा न्याय र पारदर्शिता हुनुपर्छ । निर्णय प्रक्रियामा सामूहिकता स्थापित हुनुपर्छ । जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्नुपर्छ ।सुधारको अभियान अरूलाई दोष दिएर होइन, आफू जहाँ छौँ त्यहीँबाट सुरु हुनुपर्छ ।

पद होइन, योगदानको सम्मान चाहिएको छ
गिम्दीका कार्यकर्तामा मैले अर्को महत्वपूर्ण विशेषता पनि देखेँ । उनीहरूमा पद र प्रतिष्ठाप्रतिको अस्वाभाविक लालसा थिएन । बरु पार्टी निर्माणमा आफूले गरेको योगदानको पहिचान होस्, आफ्नो श्रम र समर्पणको उचित मूल्याङ्कन होस् र संगठन निर्माणमा आफ्नो सहभागिता अर्थपूर्ण बनोस् भन्ने चाहना थियो ।
उनीहरू जिम्मेवारी पाएपछि मात्र काम गर्ने होइनन् । जिम्मेवारी नपाए पनि पार्टी र जनताका लागि निरन्तर खटिन तयार छन् । उनीहरूको चाहना पद होइन, योगदानको सम्मान हो; व्यक्तिगत प्रतिष्ठा होइन, संगठन निर्माणमा अर्थपूर्ण सहभागिता हो ।
वास्तवमा पार्टीको जग यस्तै कार्यकर्ताले बलियो बनाउँछन् । उनीहरूका लागि राजनीति जागिर होइन, जीवनको एउटा उद्देश्य हो । पार्टी केवल संगठन होइन, विचार र विश्वासको साझा चौतारी हो । पार्टीको झन्डा केवल कपडाको टुक्रा होइन, वर्षौंको संघर्ष, त्याग र सपनाको प्रतीक हो ।
यस्ता कार्यकर्तालाई बेवास्ता गरेर कुनै पनि पार्टी बलियो बन्न सक्दैन । उनीहरूको निष्ठालाई स्वाभाविक ठानेर नेतृत्वले आफ्नो जिम्मेवारीबाट पन्छिन पनि मिल्दैन । पार्टीका लागि कार्यकर्ताले समय दिएका छन्, श्रम दिएका छन्, पसिना बगाएका छन् र आवश्यक पर्दा व्यक्तिगत जीवनका अनेक सुविधा त्यागेका छन् । अब पार्टीले उनीहरूलाई सुन्ने, बुझ्ने र सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ ।
सम्भावना ठूलो छ, आत्मसमीक्षा अनिवार्य छ
नेकपा एमालेसँग देशको समृद्धि, सुशासन र सामाजिक रूपान्तरणका लागि स्पष्ट विचार, लामो राजनीतिक अनुभव, स्थापित नीति, प्रशिक्षित जनशक्ति र देशव्यापी संगठनात्मक क्षमता छ । नेपाली समाजको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
त्यसैले देश निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने क्षमता र सम्भावना नेकपा एमालेसँग छ भन्ने विश्वास पार्टीका कार्यकर्तामा देखिन्छ । उनीहरूका लागि एमाले केवल एउटा राजनीतिक दल होइन, देशको भविष्यसँग जोडिएको भरोसा पनि हो । तर इतिहासको योगदान भविष्यको सफलताको स्वतः ग्यारेन्टी होइन । विगतमा गरेको कामको गौरवसँगै वर्तमानका कमजोरी स्वीकार गर्ने साहस पनि नेतृत्वमा हुनुपर्छ ।
अरू राजनीतिक शक्तिका कमजोरी देखाएर मात्र एमालेको श्रेष्ठता स्थापित हुँदैन । आफ्ना नीति र कार्यक्रम जनताले बुझ्ने भाषामा बुझाउन सक्नुपर्छ । जनताका वास्तविक समस्या समाधान गर्न सक्नुपर्छ । नेतृत्वको आचरण र व्यवहार पार्टीले बोकेको विचारअनुकूल हुनुपर्छ ।
हामीले पार्टी निर्माणको आन्दोलन किन सुरु गरेका थियौं ? हाम्रो राजनीतिक संघर्षको उद्देश्य के थियो ? समाजका कमजोर, उत्पीडित र अवसरबाट वञ्चित नागरिकको जीवनमा परिवर्तन ल्याउन हामीले के गर्नुपर्ने थियो ? यी प्रश्नको उत्तर स्पष्ट नभएसम्म नेतृत्वको अर्थ र राजनीतिको उद्देश्य पनि स्पष्ट हुन सक्दैन ।
आफ्नो पदको सुरक्षा मात्र खोज्ने व्यक्ति नेता हुन सक्दैन । नेतृत्व भनेको जिम्मेवारी हो, त्याग हो र अरूको विश्वासको सम्मान गर्ने क्षमता हो । आज एमालेले आवश्यक ठानेको सुधार केवल संगठनात्मक पुनर्संरचना होइन, राजनीतिक संस्कारको रूपान्तरण पनि हो । योग्यताको सम्मान, सामूहिक नेतृत्व, जवाफदेहिता, पारदर्शिता र जनतासँगको निरन्तर सम्बन्धलाई संगठनको जीवनशैली बनाउनुपर्छ ।

आठ घण्टा हिँड्ने कार्यकर्ता छन्, के नेतृत्वले ८ मिनेट दिन सक्छ ?
गिम्दीबाट फर्किंदै गर्दा एउटा प्रश्नले मेरो मनमा निरन्तर ठाउँ ओगटिरह्यो । पार्टीका लागि आठ घण्टा पैदल हिँड्न सक्ने कार्यकर्ता छन्, के उनीहरूको मनसम्म पुग्न नेतृत्वले आठ मिनेट समय निकाल्न सकेको छ ?
यो प्रश्न केवल केन्द्रीय नेतृत्वका लागि होइन । यो हामी सबैका लागि हो । केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म जिम्मेवारीमा रहेका प्रत्येक नेता तथा कार्यकर्ताले आफैँलाई सोध्नुपर्ने प्रश्न हो ।
हामीले कार्यकर्ताको घरदैलोमा पुगेर उनीहरूको दुःख सुनेका छौं ? उनीहरूको योगदानको सम्मान गरेका छौं ? उनीहरूका समस्या समाधान गर्न कति समय दिएका छौं ? संगठनमा योगदान गर्ने मानिसलाई कति अवसर दिएका छौं ? जिम्मेवारी नपाएका तर निरन्तर खटिरहेका कार्यकर्ताको मनोभावना बुझ्न सकेका छौं ?
समीक्षा यहीँबाट सुरु गर्नुपर्छ । दोष जति नेतृत्वलाई दिएर आफू उम्किनु पनि उचित होइन । संगठनको हरेक तहमा जिम्मेवारीमा रहेका हामी सबैले आफ्नो भूमिका र कमजोरीको समीक्षा गर्नुपर्छ । सुधारको सुरुवात अरूबाट होइन, आफैँबाट हुनुपर्छ ।
हाम्रो आन्दोलन केका लागि थियो भन्ने कुरा स्पष्ट भएको व्यक्ति मात्र वास्तविक अर्थमा नेता हुन सक्छ । पद प्राप्त गर्नु नेतृत्व होइन, जिम्मेवारीप्रति इमानदार हुनु नेतृत्व हो । कार्यकर्ताको विश्वास जित्नु नेतृत्व हो र जनताको दुःखमा साथ दिनु राजनीतिको वास्तविक सार हो ।
पार्टीको वास्तविक शक्ति नेताको पदमा होइन, कार्यकर्ताको विश्वासमा हुन्छ । कार्यकर्ताको मन जित्न सके जनताको मन जित्न सकिन्छ । जनताको मन जित्न सके मात्र राजनीतिक उद्देश्य पूरा गर्न सकिन्छ । त्यसैले आजको आवश्यकता आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा हो, मुल नेतृत्वबिरुद्ध घेरावन्दी र गुटबन्दी होइन, सामूहिकता हो, भाषण होइन, व्यवहारमा देखिने सुधार हो ।
निष्ठा मरेको छैन, आशा अझै जीवित छ
गिम्दीका कार्यकर्ताको आँखामा मैले निराशाको अन्तिम बिन्दु देखिनँ । बरु सुधारको अपेक्षासहित बाँचेको आशा देखेँ । उनीहरू पार्टी छोड्न चाहँदैनन्, पार्टी सुध्रिएको हेर्न चाहन्छन् । उनीहरू नेतृत्वसँग विमुख हुन चाहँदैनन्, नेतृत्व जनताको नजिक पुगेको देख्न चाहन्छन् ।

उनीहरूको विश्वास छ-नेकपा एमालेले आफ्ना कमजोरी सच्याउन सक्यो, कार्यकर्ताको योगदानको सम्मान गर्न सक्यो र जनताको अपेक्षाअनुसार काम गर्न सक्यो भने फेरि जनताको भरोसायोग्य शक्ति बन्न सक्छ । जनताको मनमनमा पुनः स्थापित हुन सक्छ ।
हामी कार्यकर्ता थाकेका छैनौं । हाम्रो निष्ठा मरेको छैन । हाम्रो संकल्प कमजोर भएको छैन । हामी आफ्नै ठाउँबाट संगठन निर्माण गर्न, जनताको बीचमा उभिन र पार्टीको विचार तथा कार्यक्रमलाई समाजमा स्थापित गर्न तयार छौं । अब नेतृत्वले पनि कार्यकर्ताको त्याग र समर्पणलाई सम्मान गर्दै नयाँ ऊर्जा, नयाँ सोच र नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्छ ।
अरूले सपना बाँड्न सक्छन्, तर सपना साकार पार्न स्पष्ट विचार, अनुभव, संगठनात्मक क्षमता र इमानदार कार्यान्वयन चाहिन्छ । यी सम्भावना एमालेसँग छन् । अब आफ्ना कमजोरी सच्याएर जनताको विश्वास पुनः आर्जन गर्ने अठोट आवश्यक छ ।गिम्दीको त्यो यात्राले मलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही हो–पार्टीप्रतिको निष्ठा भाषणले होइन, व्यवहारले मापन हुन्छ । नेतृत्वको उचाइ पदले होइन, उसले कति कार्यकर्ताको मनमा स्थान बनाउन सकेको छ भन्ने कुराले निर्धारण गर्छ ।
पार्टीका लागि आठ घण्टा हिँड्ने कार्यकर्ता छन् । अब नेतृत्वले उनीहरूको मनसम्म पुग्न आठ मिनेट निकाल्न सक्नुपर्छ । त्यस दिन मात्र कार्यकर्ताको त्यागको वास्तविक सम्मान हुनेछ । त्यस दिन मात्र संगठनको जग अझ बलियो हुनेछ । र त्यस दिन मात्र एमालेले कार्यकर्ताको निष्ठालाई जनताको विश्वासमा रूपान्तरण गर्न सक्नेछ ।
गिम्दीबाट फर्किंदा मेरो मनमा एउटा विश्वास अझ गहिरो भएको छ–नेकपा एमालेको शक्ति अझै जीवित छ । त्यो शक्ति गाउँका ती निष्ठावान् कार्यकर्ताको पसिनामा छ, उनीहरूको समर्पणमा छ र उनीहरूको आँखामा बाँकी रहेको आशामा छ । अब त्यो आशालाई निराशामा बदलिन नदिने जिम्मेवारी हाम्रो हो ।
आउनुहोस्, कार्यकर्ताको त्यागलाई सम्मान गरौं, कमजोरी स्वीकार गरौं, आफूबाटै सुधार सुरु गरौं र जनताको विश्वास पुनः आर्जन गर्ने अभियानमा एकताबद्ध भएर अघि बढौं । किनकि पार्टी बलियो हुने बाटो नेताको पदबाट होइन, कार्यकर्ताको मनसम्म पुग्ने यात्राबाट सुरु हुन्छ । कार्यकर्ताको मन जनताको मनमा पुग्छ । जस्ले नयाँका नाममा अव गल्ती गर्न सक्दैनन । यही नै सत्य हो । यसतर्फ सवैले आजै, अहिलेबाट नै सोच्ने कि ?














प्रतिक्रिया दिनुहोस्