जनता टाइम्स

२८ कार्तिक २०८३, शनिबार २१:०८

मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मङ्सिर ४ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान


जनकपुरधाम, कात्तिक २८ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।

प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आफ्नो दाबी पेस गर्न आह्वान गरेको छ।

मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज स्वीकृत गर्नुभएको हो। राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढाउनुभएको छ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयले इच्छुक प्रदेशसभा सदस्यलाई २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक समर्थनसहित आफ्नो दाबी पेस गर्न समयसीमा तोकेको छ।

अब तोकिएको समयभित्र कुन दल वा गठबन्धनले बहुमत जुटाएर सरकार गठनको दाबी पेस गर्छ भन्ने विषयले मधेस प्रदेशको आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ। सरका गठनकाे लागि नेकपा एमाले, नेकपा र जनमत पार्टी छलफलमा छन् ।