काठमाडौं, कात्तिक २८। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सको यात्रा समूह चरणमै समाप्त भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर प्लेअफ दौडबाट बाहिरिएको हो।
यससँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्।
यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सको यात्रा भने समूह चरणमै सीमित भएको छ।
विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा ओपनर डार्सी शर्ट र आसिफ शेखले समान ४५ रनको योगदान दिए।
त्यस्तै अलि शेखले २७ रन बनाउँदा सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अविजित २५ रन जोडे। ११ बलको सामना गरेका जोराले ३ छक्का र १ चौका प्रहार गरे। अन्तिम ओभरमा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए।
बलिङतर्फ विराटनगरका अपराजित पौडेलले सर्वाधिक २ विकेट लिए। चरिथ असलंका र रुपेश सिंहले समान १ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।
विराटनगरका लागि चरिथ असलंकाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ६ छक्का र १ चौकासहित ६४ रन बनाए। शुभम रञ्जानेले अविजित ३१ रनको योगदान दिए भने इमरान शेखले २४ र लोकेश बमले १५ रन जोडे। २४ रन बनाएका इमरान रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए।
लुम्बिनीका बलरमध्ये किशोर महतोले २ विकेट लिए भने अभिशेष गौतम र रुवेन ट्रम्पलमानले समान १ विकेट हात पारे।
लुम्बिनीसँगको हारसँगै विराटनगरको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ भने लुम्बिनीले महत्त्वपूर्ण जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ।














प्रतिक्रिया दिनुहोस्