जनता टाइम्स

२९ कार्तिक २०८३, आइतबार ०९:१२

आस्था, प्रकृति संरक्षण र सामाजिक सद्भावको पर्व छठको आज मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै


काठमाडौं, कात्तिक २९ । सूर्यदेवप्रति श्रद्धा, आस्था र समर्पण प्रकट गर्दै मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर मनाइँदै छ। 

चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको आज छैटौँ दिन अर्थात् षष्ठी तिथि देशभरका व्रतालुहरूले विभिन्न नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा भेला भएर अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै छन्।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो। धार्मिक आस्था, सामाजिक एकता, सांस्कृतिक पहिचान र प्रकृतिप्रतिको सम्मानको अनुपम संगम मानिने छठ पर्वले पछिल्लो समय तराई–मधेशको भौगोलिक सीमालाई पार गर्दै राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छ।

छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ। व्रतालुहरूले कठोर उपवास, शुद्धता र संयम पालना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्ने धार्मिक विश्वास छ। यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ।

पौराणिक मान्यता र धार्मिक महत्त्व

ऐतिहासिक तथा पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यसबेला पाण्डवहरू विराट राजाको दरबारमा बसेको उल्लेख छ। लोक मान्यता अनुसार सोही समयदेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ।

त्यसैगरी सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक कथन छ। यसै घटनादेखि छठ व्रतको परम्परा सुरु भएको मानिन्छ।

पुराणमा भगवान् श्रीकृष्णका पुत्र साम्ब कुष्ठरोगबाट पीडित भएपछि सूर्यदेवको आराधना गरी रोगमुक्त भएको प्रसङ्गसमेत उल्लेख छ। यही कारण छठ पर्वलाई आरोग्य, दीर्घायु र पारिवारिक कल्याणसँग जोडेर हेर्ने गरिन्छ। छठमा श्रद्धापूर्वक व्रत बसेमा दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने जनविश्वास छ।

प्रकृति र सूर्यप्रतिको कृतज्ञताको पर्व

छठ केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन। यो प्रकृति, जल, माटो, वनस्पति र मानव जीवनबीचको अन्योन्याश्रित सम्बन्धलाई स्मरण गराउने सांस्कृतिक अवसरसमेत हो।

संसारका सम्पूर्ण भौतिक तथा जैविक विकासमा सूर्यको महत्त्वपूर्ण भूमिका रहेको छ। सूर्यको प्रकाश र तापबिना वनस्पति, प्राणी तथा सम्पूर्ण पर्यावरणीय प्रणालीको अस्तित्व सम्भव हुँदैन। सूर्यको किरणले पृथ्वीमा जीवन सञ्चालन गर्न आवश्यक ऊर्जा प्रदान गर्दछ। त्यसैले छठ पर्वमा सूर्यको पूजा गर्नु प्रकृतिप्रतिको सम्मान र जीवनप्रतिको कृतज्ञता व्यक्त गर्ने परम्पराका रूपमा पनि बुझिन्छ।

यस पर्वमा बाँसका ढक्की, नाङ्लो, माटाका भाँडा, केराका घरी, नरिवल, उखु, स्याउ, सुन्तला, अदुवा, बेसारलगायत स्थानीय कृषि उपज र प्राकृतिक सामग्री प्रयोग गरिन्छ। यसले स्थानीय उत्पादन, कृषि संस्कृति, परम्परागत सीप र ग्रामीण अर्थतन्त्रलाई समेत प्रोत्साहन पुर्‍याउँछ।

सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक

छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष सामाजिक सद्भाव र सामूहिक सहभागिता हो। जातजाति, भाषा, समुदाय र आर्थिक अवस्थाभन्दा माथि उठेर सबैले एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने यस पर्वले आपसी भाइचारा, सहिष्णुता र एकताको सन्देश दिन्छ।

विशेषगरी तराई–मधेस समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित छठ अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर तथा बस्तीमा उत्साहपूर्वक मनाउन थालिएको छ। विभिन्न समुदायका मानिसहरू एक अर्काको पर्वमा सहभागी हुने क्रमले नेपालको बहुसांस्कृतिक समाजमा सहअस्तित्व र आपसी सम्मानको भावना बलियो बनाउन सहयोग पुर्‍याएको छ।

छठ पर्वले परिवारका सदस्यहरूलाई एकै ठाउँमा जोड्ने, पुस्तान्तरण हुँदै आएका परम्पराको संरक्षण गर्ने र नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति तथा धार्मिक मूल्यसँग परिचित गराउने कामसमेत गर्दछ।

चार दिनसम्म मनाइने छठको विधि

छठ पर्व चार दिनसम्म विभिन्न विधि र प्रक्रियाअनुसार मनाइन्छ। कार्तिक शुक्ल चतुर्थीका दिन व्रतालुहरूले स्नान गरी शुद्ध भएर एक छाक भोजन गर्ने गर्दछन्। यस दिनदेखि नै शारीरिक तथा मानसिक शुद्धता र सात्त्विक आहारमा विशेष ध्यान दिइन्छ।

दोस्रो दिन अर्थात् पञ्चमीका दिन खरना गरिन्छ। यस दिन व्रतालुहरूले सखर तथा चामलबाट तयार पारिएको खीरलगायतका प्रसाद छठी मातालाई अर्पण गरी ग्रहण गर्दछन्। खरनापछि व्रतालुहरू कठोर उपवासमा बस्ने परम्परा छ।

तेस्रो दिन अर्थात् षष्ठीका दिन निराहार व्रत बसेर साँझ नदी, तलाउ तथा जलाशयका किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। फलफूल, ठकुवा, भुसुवा, उखु, नरिवललगायत प्रसाद बाँसका सामग्रीमा सजाएर सूर्यदेवलाई अर्पण गरिन्छ।

चौथो दिन अर्थात् सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ। षष्ठीको रात व्रतालुहरू जाग्राम बस्ने र बिहान पुनः पूजा आराधना गर्ने परम्परा रहेको छ।