काठमाडौं, कात्तिक २९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् ।
आज दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
चितवनले प्लेअफमा स्थान सुरक्षित गरिसकेकाले आजको खेलको नतिजाले उसको प्लेअफ यात्रा प्रभावित हुने छैन । यो खेलमा पराजित भए पनि चितवनले इलिमिनेटर खेल्ने निश्चित भइसकेको छ । यद्यपि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने अवसर भने चितवनसँग हुनेछ ।
अर्कोतर्फ कर्णाली याक्स भने प्लेअफको दौडबाट बाहिरिसकेको छ । प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको कर्णालीले जित निकाले पनि त्यो उसका लागि सान्त्वना जित मात्र हुनेछ ।
आजै साँझ ५ बजे सुरु हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्दैछन् । प्लेअफमा छनोट भइसकेको काठमाडौंले यो खेल जित्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्य राखेको छ । काठमाडौंका लागि यो खेल प्लेअफअघि आफ्नो लय र मनोबल बलियो बनाउने अवसरसमेत हुनेछ ।
यता पोखरा एभेन्जर्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले आजको खेल जिते पनि पोखराका लागि प्रतियोगितामा अर्को जित थप्नुबाहेक प्लेअफको सम्भावना रहने छैन ।
आठ टोली सहभागी यस संस्करणको एनपीएलमा लिग चरणका खेल सकिँदै गर्दा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान बनाएका छन् । अब यी चार टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
लिग चरणका अन्तिम दुई खेलपछि अंकतालिकाको अन्तिम समीकरण स्पष्ट हुनेछ र प्लेअफका खेलहरू सुरु हुनेछन् ।














प्रतिक्रिया दिनुहोस्