जनता टाइम्स

२९ कार्तिक २०८३, आइतबार ०९:००

एमालेकाे मंसिर २ र ३ गते राष्ट्रिय भेला, ४ गते जनप्रतिनिधिकाे भेला र ५ गते केन्द्रीय कमिटी बैठक 


काठमाडौं, कात्तिक २९ । नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म लगातार तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले राष्ट्रिय भेला, स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना हुनेछ। उक्त भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेला सम्पन्न भएपछि मंसिर ५ गते पार्टीको केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले यी तीनवटै कार्यक्रमको तयारी भइरहेको जानकारी दिनुभयाे ।