काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री बालेन्द्र साहले छठ पर्व प्रकृति र आस्थाको महान् पर्व भएको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वको धार्मिक तथा पारिवारिक महत्त्व रहेको बताउनुभएको छ । प्रधानमन्त्री साहले छठ पर्व परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै मनाइने परम्परा रहेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्व मुख्यतया परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै मनाइन्छ।”
छठ पर्वले जीवनको गहिरो दर्शनसमेत सिकाउने उल्लेख गर्दै प्रधानमन्त्री साहले उदाउँदो सूर्यलाई मात्र नभई अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य अर्पण गरिने परम्परालाई विशेष महत्त्व दिनुभएको छ। उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ। जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।”
त्यसैगरी, चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वका विभिन्न धार्मिक विधि र परम्पराबारे उल्लेख गर्दै उहाँले पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य अर्पण गर्ने परम्परा रहेको बताउनुभएको छ। प्रधानमन्त्री साहले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। उहाँले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य प्राप्तिका लागि प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस्।”
प्रधानमन्त्री साहले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमाथि सधैँ कायम रहोस् भन्ने कामना गर्दै मैथिली भाषामा समेत छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।”














प्रतिक्रिया दिनुहोस्