काठमाडौं, कात्तिक २९ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वलाई नेपाली समाजमा सामाजिक सद्भाव, सांस्कृतिक एकता र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने महत्वपूर्ण पर्वका रूपमा चित्रण गर्नुभएको छ।
उहाँले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ। छठ पर्व २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण र संवर्द्धनसँगै आपसी सद्भाव तथा सामाजिक एकता कायम राख्न यस पर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभएको हो।
सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै प्रकृतिको पूजा आराधना गर्ने परम्परासँग जोडिएको छठ पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उहाँको भनाइ छ। दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने यस पर्वले सामाजिक तथा प्राकृतिक सन्तुलन कायम राख्नसमेत महत्वपूर्ण सन्देश प्रवाह गर्दै आएको राष्ट्रपति पौडेलले बताउनुभएको छ।
उहाँले सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने यथार्थलाई आत्मसात् गर्दै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म विधिपूर्वक मनाइने छठ पर्वले प्रकृतिप्रतिको सम्मान र पर्यावरणीय चेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधसहितको अर्घ्य अर्पण गरी गरिने पूजाआराधनाले मानिसमा प्रकृतिप्रतिको आस्था मात्र नभई पारिवारिक तथा सामाजिक ऐक्यबद्धताको भावना पनि बलियो बनाउने उहाँको विश्वास छ।
राष्ट्रपति पौडेलले छठ पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष उल्लेख गर्दै विधिपूर्वक व्रत र पूजा आराधना गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने तथा दुःखकष्ट हटेर सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको पनि स्मरण गराउनुभएको छ।
परम्परागत रूपमा विशेषगरी तराई–मधेश क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा समेत व्यापक रूपमा मनाउन थालिनु राष्ट्रिय सांस्कृतिक एकताको सुखद पक्ष भएको उहाँले उल्लेख गर्नुभएको छ।
विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र समुदायबीच आपसी सम्मान तथा सहअस्तित्वको भावना विकास गर्न यस्ता सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।
उहाँले छठ पर्वले नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गति अन्त्य गर्न प्रेरणा प्रदान गरोस् भन्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न छठी माता तथा सूर्य भगवान्को कृपा रहिरहोस् भनी कामना गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्