काठमाडौं, कात्तिक २९। सभामुख डोलप्रसाद (डीपी) अर्यालले समाजमा सुशासन कायम गर्दै सबै नागरिकले सुरक्षित र सम्मानित महसुस गर्न सक्ने राज्य निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ।
बाराको सिमरा–४, औराहास्थित नवनिर्मित कृष्ण प्रणामी मन्दिरको अवलोकन तथा स्थानीय समुदायसँगको भेटघाटका क्रममा सभामुख अर्यालले समाज, संविधान र कानुनले वञ्चित नगरेका विषयमा सबै नागरिकको समान सहभागिता र उपस्थितिको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो।
उहाँले आफू निश्चित अवधिका लागि सभामुखको जिम्मेवारीमा रहे पनि आफ्नो सामाजिक धरातल र नागरिकका रूपमा समाजसँगको सम्बन्ध कहिल्यै नबिर्सने स्पष्ट पार्नुभयो। “म निश्चित अवधिका लागि सभामुख भएको हुँ, तर मेरो धरातल एउटा साधारण नागरिकका रूपमा यही समाजमा छ। हिजोको मेरो हुर्काइ र भोलि पनि यही समाजमा तपाईँहरूसँगै मिलेर बस्नुपर्ने कुरा म कदापि भुल्न सक्दिनँ,” उहाँले भन्नुभयो।
सभामुख अर्यालले आर्थिक विकासका दृष्टिले नेपालले अझै धेरै प्रगति गर्न बाँकी रहे पनि धर्म, संस्कृति, सम्पदा र विविधताबीच कायम सामाजिक एकता नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्नुभयो। उहाँले जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्व नेपालको मौलिक विशेषता भएको बताउँदै उहाँले यसलाई विश्वसामु उदाहरणका रूपमा प्रस्तुत गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
उहाँले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माणमा राज्यका सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। नागरिकलाई दुःख र समस्या पर्दा राज्य तथा सरकार आफ्नो साथमा रहेको अनुभूति हुने वातावरण निर्माण गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो। यसका लागि नागरिकका समस्या, गुनासा र आवश्यकतालाई संवाद, सहकार्य तथा समन्वयमार्फत सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो।
सभामुख अर्यालले संघीय संसद्मा कानुन तथा नीति निर्माण गर्ने क्रममा नेपालका सबै धर्म, संस्कृति, जातजाति र भाषाको प्रतिनिधित्व तथा समावेशितालाई प्राथमिकता दिन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कानुन निर्माणका क्रममा विज्ञ तथा सरोकारवालाका सुझाव, अनुभव र दृष्टिकोणलाई समेट्न सके भावी पुस्ताका लागि थप उपयोगी र समावेशी कानुन निर्माण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्