जनता टाइम्स

३० कार्तिक २०८३, सोमबार १३:४८

बझाङमा भिरबाट अटो खस्यो : तीन जनाको मृत्यु, एक बालक बेपत्ता


काठमाडौं, कात्तिक ३०। बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।

मृत्यु हुनेमा बुंगल नगरपालिका–१० निवासी अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार बुंगल नगरपालिका–१० स्थित टुमेडामा बिहान करिब १०ः३० बजे नम्बर नखुलेको अटो दुर्घटनामा परेको हो। दुर्घटनामा परेको अटोमा सवार एक बालक बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अटो सडकबाट करिब ९ सय मिटर तल भिरमा खसेको प्रारम्भिक अनुमान छ। दुर्घटनाका बेला अटोमा चारदेखि पाँच जना सवार रहेको बताइएको छ। बेपत्ता बालकको खोजी तथा दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।