जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १०:५९

सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ


काठमाडौं, मंसिर १ । सिन्धुलीमा सामान्य विवादका क्रममा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीका अनुसार जिल्ला सिन्धुलीको कमलामाई नगरपालिका–१०, डाँडाटोलमा आज मंसिर १ गते राति करिब १ बजेको समयमा उक्त घटना भएको हो।

प्रहरीले दिएको जानकारीअनुसार करिब ४२ वर्षीय मनोज कार्कीले सामान्य विवादका क्रममा आफ्नै श्रीमती ४० वर्षीया सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए। लोहोरोको प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे राति १ बजेर १५ मिनेटमा जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको वास्तविक कारण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।