काठमाडौं, कात्तिक ३० । मुगुको रारा जाने क्रममा भएको जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनुभएकी अञ्जु थापाको काठमाडौंस्थित बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको छ ।
ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया थापाको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हुनुभएका जिप चालक ५८ वर्षीय कञ्चन थापाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । उहाँ र अञ्जुलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै काठमाडौं ल्याइएको थियो ।
दुर्घटनामा घटनास्थलमै मृत्यु भएका अन्य तीन जनाको शव पनि काठमाडौं ल्याइएको छ । मृत्यु हुनेमा काठमाडौं कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहनुभएको छ ।
उहाँहरूको शव नेपाली सेनाको हेलिकप्टरबाट मुगुबाट सुर्खेत पुर्याएर त्यहाँबाट शववाहनमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट रारा तालतर्फ गइरहेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप आइतबार बेलुका मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भिरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।














प्रतिक्रिया दिनुहोस्