काठमाडौं, कात्तिक ३० गते । नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने जनाएको छ ।
पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रिय भेलाको तयारी, उद्देश्य, सहभागिता, कार्यतालिका तथा व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी दिइएको छ ।
एमालेले राष्ट्रिय भेलालाई पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने, आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित तयारी गर्ने र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण स्पष्ट पार्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । काठमाडौंको माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा पार्टीका प्रमुख कार्यभारबारे सम्बोधन गर्नुहुने एमालेले जनाएको छ ।
राजनीतिक अवस्था जटिल बन्दै गएको एमालेको निष्कर्ष
एमालेले २०८२ भदौमा भएका आगजनी, तोडफोड र लुटपाटका घटना, फागुनमा सम्पन्न निर्वाचनको परिणाम तथा निर्वाचनपछि गठन भएको सरकारका कामकारबाहीले मुलुकको राजनीतिक र लोकतान्त्रिक वातावरण थप जटिल बनाउँदै लगेको निष्कर्ष निकालेको छ ।
प्रेस विज्ञप्तिमा लोकतन्त्रका आधारभूत मूल्य–मान्यता, विधिको शासन र नागरिक अधिकारमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रका आधारभूत मूल्य–मान्यता, विधिको शासन र नागरिक अधिकारमाथि उठिरहेका प्रश्न तथा सरकारका अलोकतान्त्रिक र जनविरोधी कार्यशैलीले जनमानसमा असन्तुष्टि, अन्योल, निराशा र आक्रोश बढाउँदै लगेको छ । मुलुकमा राजनीतिक दिशाहीनता र भविष्यप्रतिको अनिश्चितता गहिरिँदै गएको छ ।”
यही राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर राष्ट्रिय भेला आयोजना गर्न लागिएको एमालेले जनाएको छ । पार्टीले भेलामार्फत मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी राजनीतिक तथा सङ्गठनात्मक कार्यदिशा स्पष्ट पार्ने तयारी गरेको छ ।
स्थानीय निर्वाचनको तयारी भेलाको प्रमुख उद्देश्य
एमालेले राष्ट्रिय भेलाको प्रमुख उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु रहेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले २०८३ असोज ५ देखि ८ गतेसम्म गरेका निर्णय तथा पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भेलाको मुख्य ध्येय रहेको विज्ञप्तिमा उल्लेख छ ।
भेलाले पार्टीका नेता तथा कार्यकर्ताबीच राजनीतिक बुझाइ, निर्णय र दृष्टिकोणमा एकरूपता कायम गर्दै वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने एमालेको योजना छ । विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकद्वारा पारित आजका दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र कामलाई एकजुट भई कार्यान्वयन गरी सफल बनाउनेगरी जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु राष्ट्रिय भेलाको मुख्य ध्येय हो ।”
त्यस्तै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन र निराशालाई चिर्दै जनतामा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने उद्देश्यसमेत भेलाले राखेको एमालेले जनाएको छ ।
महाधिवेशनभन्दा ठूलो प्रतिनिधित्व रहने एमालेको दाबी
एमालेले पार्टीको इतिहासमै पहिलोपटक केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र सङ्घीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै थलोमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासमा रहेका पार्टी कमिटीका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् ।
त्यसैगरी, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, विभिन्न उपसमितिमा रहेका नेता तथा कार्यकर्ता र व्यवस्थापनमा खटिने स्वयंसेवकहरूको सहभागिता रहनेछ ।
एमालेले प्रतिनिधित्वका हिसाबले पार्टीका सबै क्षेत्रलाई समेटिएको दाबी गर्दै भेलाको आकार र सहभागितालाई विशेष महत्व दिएको छ ।विज्ञप्तिमा भनिएको छ, “सङ्ख्याको हिसाबले राष्ट्रिय भेला महाधिवेशनभन्दा ठूलो र प्रतिनिधित्वको हिसाबले सबै क्षेत्र समेटिएको छ ।”
ओली, विद्यादेवी भण्डारी र शीर्ष नेताहरूको सम्बोधन
राष्ट्रिय भेलाको उद्घाटनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष राजनीतिक तथा वैचारिक सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा, दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामबारे मार्गदर्शन गर्नुहुनेछ ।
त्यसैगरी, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका समसामयिक विषय र पार्टीका कार्यभारका सम्बन्धमा विशेष सम्बोधन गर्नुहुने एमालेले जनाएको छ । भेलामा पार्टीका विभिन्न शीर्ष नेताहरूबाट महत्वपूर्ण कार्यपत्र तथा प्रस्तुति रहनेछन् ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ ।
यी प्रस्तुतिमार्फत पार्टीको आन्तरिक अवस्थाको समीक्षा, सङ्गठनात्मक सुधार र आगामी निर्वाचनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने एमालेले जनाएको छ ।
सहभागीलाई स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य
एमालेले राष्ट्रिय भेलामा सहभागी हुने सबैले स्थानीय तह निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरी आगामी कार्ययोजनामा समेट्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
यसबाट स्थानीय तहको राजनीतिक अवस्था, सङ्गठनको स्थिति, जनप्रतिनिधिको कार्यसम्पादन र निर्वाचनको तयारीबारे पार्टीले थप जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्ने
राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्नेछ । आफैँ व्यवस्था गर्न असमर्थ हुने सहभागीका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीहरूले आवश्यक समन्वय तथा व्यवस्थापन गर्ने एमालेले जनाएको छ ।
भेला सञ्चालनका लागि आवश्यक सभाहल तथा आन्तरिक सुरक्षा व्यवस्था व्यवस्थित गरिएको विज्ञप्तिमा उल्लेख छ । सहायक रथी (अवकाशप्राप्त) विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवक परिचालन गरी भेला स्थल र सहभागीहरूको सुरक्षा व्यवस्थापन गरिनेछ ।
त्यसैगरी, सहभागीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवाका लागि सभाहलको मूलगेट अगाडि हेल्थ डेस्क स्थापना गरिनेछ ।
कार्यक्रमस्थलमा सवारीसाधन पार्किङका लागि पर्याप्त स्थान नभएकाले सहभागीहरूको सवारी पार्किङको व्यवस्था पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ ।
सहभागी परिचयपत्र वितरणका लागि प्रदेशस्तरमा सञ्चार तथा समन्वयको जिम्मेवारीमा रहेका राष्ट्रिय भेला व्यवस्थापनमा खटिएका प्रतिनिधिमार्फत व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।
सञ्चारकर्मीका लागि मिडिया सेन्टर स्थापना
राष्ट्रिय भेलाको समाचार सङ्कलन तथा सम्प्रेषणका लागि एमालेले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई उपस्थितिका लागि आमन्त्रण गरेको छ । उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार सङ्कलन, श्रव्यदृश्य सामग्री खिच्न तथा सम्प्रेषणका लागि सभाहलसम्म पहुँच उपलब्ध गराइनेछ ।
त्यसपछिका सत्रमा हुने गतिविधिबारे जानकारी गराउन मिडिया सेन्टर स्थापना गरी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले नियमित मिडिया ब्रिफिङ गर्ने व्यवस्था मिलाइएको छ । बन्दसत्रका महत्वपूर्ण विषय तथा निर्णयसम्बन्धी समाचार सम्प्रेषणका लागि प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालको विद्यमान सञ्जालमार्फत सञ्चारकर्मीलाई जोडिने विज्ञप्तिमा उल्लेख छ ।
एमालेले राष्ट्रिय भेलालाई पार्टीको आगामी राजनीतिक तथा सङ्गठनात्मक यात्राका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै यसको सफलताका लागि सञ्चार क्षेत्रको सहयोग अपेक्षा गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्