जनता टाइम्स

३० कार्तिक २०८३, सोमबार १६:३५

बालेन सरकारको बदमासी इनम सापकोटाका नाममा पटाक्षेप भयो : एमाले


काठमाडौं, कात्तिक ३० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटामाथिको अनुसन्धान निकै रहस्यमयी भएको बताउनु भएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारको गतिविधि इनम सापकोटाका नाममा पटाक्षेप भएको बताउनु भएको हो ।

‘बालेन सरकारको बदमासी बिचौलिया इनम सापकोटाका नाममा पटाक्षेप भएको कुरा सवैतिर आइसकेको छ,’ पोखरेलले भन्नुभयो, ‘त्यसका रहस्य त आउन बाँकी नै छन् । धेरैले गरेको विश्लेषण प्रधानमन्त्रीलाई झापामा उम्मेदवार बनाउन उपयुक्त हुन्छ हुँदैन भन्ने कुराको सर्वेक्षण पनि उनकै नेतृत्वमा भएको थियो भन्ने छ । चुनावको क्याम्पेनमा पनि उनै सामेल भए ।प्रधानमन्त्री भइसकेपछि कसरी सरकारलाई सफल बनाउने भन्ने कोर टिमभित्र पनि उनी रहे भन्नेसम्मका कुराहरू आइसकेका छन् ।’

एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा लिएको मोबाइल दुई–तीन दिनसम्म राखेको कुरा पनि बाहिर आइसकेकोले थप केही तथ्य खोजिरहनै नपर्ने बताउनु भयो । ‘अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ । तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन,’ पोखरेलले भन्नुभयो ।

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पनि चर्को आलोचना गर्नुभयो । महासचिव पोखरेलले प्रधानमन्त्री अलोकतान्त्रिक चरित्रका रहेको भन्ने कुरा तथ्यले बताइसकेको भन्दै बिपक्षी त परै जावस पार्टीसँग समेत सम्वाद गर्न छाडेको दृष्टान्त दिनुभयो ।