काठमाडौं, कात्तिक ३० गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्दै वैचारिक, राजनीतिक र सैद्धान्तिक रूपमा एकताबद्ध बनाउनु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।
मंसिर २ र ३ गते आयोजना हुने पार्टीको राष्ट्रिय भेलाका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राष्ट्रिय भेलाले पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसकाे उद्देश्य पार्टीलाई पुनः जनताको बीचमा स्थापित गर्ने र पार्टीलाई वैचारिक, राजनीतिक तथा सैद्धान्तिक रूपमा एक बनाउने हो, पार्टीको राष्ट्रिय भेलाले पनि यही काम गर्छ ।”
पछिल्लो समय पार्टीले भोगेको निर्वाचन परिणाम असामान्य रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसका कारण पहिचान गरी प्रतिवेदन तयार पारेर छलफलसमेत गरिसकिएको जानकारी दिनुभयो । “पछिल्लो समय हामीले भोगेको परिणाम असामान्य थियो, त्यसको कारण खोजेर प्रतिवेदन बनाई छलफलसमेत गरेका छौँ, यो भेला कुनै निर्णय गर्ने भेला होइन, भएका निर्णयलाई कार्यान्वयन गर्ने भेला हो,” उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय भेलाले नयाँ निर्णयभन्दा पनि पार्टीभित्र भएका निर्णय कार्यान्वयन गर्दै संगठनलाई एकै लयमा अघि बढाउने उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले राष्ट्रिय भेलाको अर्को प्रमुख उद्देश्य स्थानीय तह निर्वाचनको तयारी गर्नु रहेको बताउनुभयो । स्थानीय तहलाई बलियो बनाउन एमालेले निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै उहाँले पार्टीको स्थानीय तहप्रति विशेष लगाव रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेकपा (एमाले) को निरन्तर प्रयत्नका स्वरूप स्थानीय तह बलियो भएको छ, स्थानीय तहप्रति नेकपा (एमाले) को विशेष लगाव छ । यो राष्ट्रिय भेलाको मुख्य मक्सद स्थानीय तह निर्वाचनको तयारी पनि हो ।”
गत फागुन २१ गते सम्पन्न निर्वाचन असामान्य परिस्थितिमा भएको उल्लेख गर्दै उहाँले जनताले दिएको जनादेशलाई एमालेले स्वीकार गरेको बताउनुभयो ।
सरकारले राजनीतिक प्रतिशोधका आधारमा अघि बढ्न खोजेको आरोप लगाउँदै महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बिना पर्याप्त तथ्य तथा प्रमाण पक्राउ गरी १३ दिनसम्म राखिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार प्रतिशोधात्मक ढंगले अगाडि बढ्न खोज्यो, बिना तथ्य प्रमाण हाम्रा अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीलाई गिरफ्तार गरेर १३ दिनसम्म राख्यो र बिना अभियोजन छाड्याे।”

सिरहा घटनाको प्रसंग उठाउँदै उहाँले पक्राउको मापदण्ड समान हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “त्यस्तै गिरफ्तार गर्ने हो भने त सिरहा घटनामा अहिलेका गृहमन्त्री र प्रधानमन्त्री पनि गिरफ्तार पर्नुपर्ने हो ।”
नयाँ राजनीतिक शक्तिहरूले विद्यार्थी संगठन निर्माणमा रोक लगाउने तथा ट्रेड युनियन बन्द गर्ने काम गरेको महासचिव पोखरेलले बताउनुभयाे । याे अलाेकतान्त्रिक तरिका भएकाे उहाँकाे भनाइ छ ।
इनम सापकोटाको नामसँग जोडिएको पछिल्लो प्रकरणबारे टिप्पणी गर्दै उहाँले त्यस विषयका थप तथ्य सार्वजनिक हुन बाँकी रहेको बताउनुभयो । “अहिले इनम सापकोटाका नाममा जुन पटाक्षेप भएको छ, त्यसको सबै कुरा बाहिर आउनै बाँकी छ । प्रधानमन्त्रीका नाममा उनले सबै क्षेत्रलाई आतंकित बनाउन खोजेको कुरा आइसकेको छ, प्रधानमन्त्रीका सल्लाहकारले उनको मोबाइल दुई दिनसम्म कब्जामा राखेको कुरा पनि आइसकेको छ, उनीमाथि भएको अनुसन्धान रहस्यमय छ,” उहाँले भन्नुभयाे ।
प्रधानमन्त्रीको संसदीय तथा राजनीतिक भूमिकामाथि प्रश्न उठाउँदै महासचिव पोखरेलले संसद्, संसदीय दल र राजनीतिक दलहरूबीचको संवादमा प्रधानमन्त्रीको सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री संसद्मा जानुहुन्न, संसदीय दलको नेता हुनुहुन्छ दलको बैठकको अध्यक्षता गर्नुहुन्न, पार्टीको वरिष्ठ नेता हुनुहुन्छ, पार्टीको बैठकमा जानुहुन्न, राजनीतिक दलको बैठकमा बस्नुहुन्न ।”
नेपाल–भारत सीमा समस्याका विषयमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको धारणाप्रति असहमति जनाउँदै महासचिव पोखरेलले उक्त धारणा गलत रहेको टिप्पणी गर्नुभयो । “नेपाल र भारतको सीमा समस्याका बारेमा प्रधानमन्त्रीले राख्नुभएको धारणा गलत हो, उहाँको गलत भन्ने बानी त रहेनछ, तर व्यवहारबाट त्यसलाई सुधार्नुहुनेछ भन्ने आशा गरौँ,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको राजनीतिक कार्यशैली र संवाद प्रक्रियामाथि पनि प्रश्न उठाउँदै महासचिव पोखरेलले भन्नुभयो, “प्रधानमन्त्रीको नेचर नै लोकतान्त्रिक छैन, उहाँले के संवाद गर्नु ? आफ्नो पार्टीमा त संवाद गर्नुहुन्न, अरूसँग के संवाद गर्नु ?”














प्रतिक्रिया दिनुहोस्