जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १६:३६

कमल थापादेखि ज्ञानेन्द्र शाहीसम्म सहभागी राप्रपाको कार्यक्रममा आपत्तिजनक हर्कत देखिएपछि


पोखरा, मंसिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिको पदस्थापन तथा अन्तक्र्रिया कार्यक्रममा नेपालको पुरानो राष्ट्रिय गान ’श्रीमान् गम्भीर नेपाली’ बजाएको तथ्य खुलेको छ ।

पोखराको अमरसिंह चोकस्थित सफल ब्याङ्क्वेटमा सोमबार (कात्तिक ३०) गते आयोजित कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले मान्यता नदिने राजतन्त्र कायम रहेको समयको राष्ट्रिय गान बजाइएको पाइएको हो । राप्रपा नेता कमल थापा, डा. प्रकाशचन्द्र लोहनीदेखि बिक्रम पाण्डेसम्म सहभागी कार्यक्रममा भएको सो कामपछि पार्टीभित्रैबाट पनि आलोचना भएको छ ।

कार्यक्रममा शाहीकालिन मन्त्री तथा पूर्वअध्यक्ष कमल थापा, पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डे तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसमेत सहभागी हुनुभएको थियो । वि.सं. २०१८ मंसिरदेखि प्रचलनमा आएको राजाको जयजयकार गरिएको ’श्रीमान् गम्भीर नेपाली’ राष्ट्रिय गान लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २०६३ जेठमा खारेज गरिएको थियो भने २०६४ साउन १८ गते ’सयौं थुँगा फूलका हामी’ लाई नेपालको नयाँ राष्ट्रिय गान लागू गरिएको छ ।

नेपालको संविधान २०७२ को अनुसूची २ अनुसार अहिले पनि यही राष्ट्रिय गान लागू छ । तर, संसदमा प्रतिनिधित्व गर्ने राप्रपाको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइएपछि पार्टीभित्रै चर्काे असन्तुष्टि र आलोचना भएको छ ।

’कमल थापा, प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डे पटकपटक राजकीय पदमा पुगिसक्नुभएका नेताहरू हुनुहुन्छ । ज्ञानेन्द्र शाही पनि दोस्रो पटक सांसद भइसकेको नेता हो। तर उहाँहरू नै सहभागी कार्यक्रममा यो उदण्डता किन रोक्न सक्नु भएन?’ यतिबेला पोखरामा राप्रपाका कार्यकर्ता यही प्रश्न उठाइरहेका छन ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङलाई जिज्ञासा राख्दा राप्रपा कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइएको हो वा होइन र बजाइएको भए किन बजाइयो भन्नेबारे सम्बन्धित पार्टीसँग सोधखोज गर्ने जानकारी दिनुभएको छ ।

राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ मा प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रभित्र राष्ट्रिय गानको प्रयोग निर्धारित व्यवस्थाअनुसार भए÷नभएको अनुगमन गर्न सक्ने व्यवस्था छ ।