जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १५:५५

मोडिफाइड बाइकलाई १५ हजार जरिवाना


काठमाडौं, मंसिर १ । ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाइएका ४०१ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ध्वनि प्रदूषण नियन्त्रण तथा सडक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले एक साताको अवधिमा ती सवारीसाधन नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार कारबाहीमा पर्नेमा ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, चारवटा स्कुटर, दुई-दुईवटा डुकाटी र एमटी, एक-एकवटा डोमिनार र केटीएम ड्युक तथा आठवटा अन्य सवारीसाधन छन् ।

एसएसपी काफ्लेले सडकमा ध्वनि प्रदूषण बढाउने र अन्य सवारी चालक तथा सर्वसाधारणलाई असर पुर्‍याउने गरी मोटरसाइकल मोडिफाइ गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार निजी सवारीसाधन भन्दै आफूखुसी स्वरूप परिवर्तन गरेर सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्नुका साथै सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पुर्‍याउँछ ।

ट्राफिक प्रहरीले मोडिफाइ गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । कानुनी प्रक्रिया पूरा भएपछि सवारीसाधनलाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाइने काफ्लेले बताउनुभयो ।

पटक–पटक नियम उल्लंघन गर्ने पाँचदेखि १० वटासम्म मोटरसाइकल भने प्रहरीले नियन्त्रणमै राखेको छ ।

मोडिफाइ गरिएका दुईपाङ्ग्रे सवारीसाधनले निर्धारित कार्यक्षमतामा असर पार्नुका साथै दुर्घटनाको जोखिम बढाउन सक्ने उहाँको भनाइ छ । काठमाडौं उपत्यकामा हुने कुल सवारी दुर्घटनामध्ये ६० देखि ७० प्रतिशत दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित रहेको काफ्लेले जानकारी दिनुभयो ।

सडक सबैको साझा प्रयोगस्थल भएकाले प्रत्येक चालकले आफ्नो व्यवहारले अरूलाई असर पारेको छ कि छैन भन्नेमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक नियमको पालना र जिम्मेवार व्यवहारबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।