जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १५:५८

ओलीको आरोप– हिंसा, आगजनी र लुटपाटबाट सरकारबाट हटाइयो, छानबिन निष्पक्ष भएन


काठमाडौं, मंसिर १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको आरोप लगाउनुभएको छ ।

आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उहाँले जेन–जी आन्दोलनका क्रममा राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनेपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र लुटपाटका घटनाको निष्पक्ष छानबिन हुन नसकेको टिप्पणी गर्नुभयो । सरकारले गठन गरेको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगले घटनाको निष्पक्ष अनुसन्धान गर्नुको सट्टा आफूहरूलाई आरोपित गर्ने उद्देश्य राखेको उहाँको आरोप छ ।

आन्दोलनका क्रममा गोली चलाउन आफू वा तत्कालीन गृहमन्त्रीले आदेश दिएको निष्कर्ष आयोगहरूबाट नआएको उल्लेख गर्दै उहाँले घटनाको वास्तविक जिम्मेवारीबारे छानबिन हुनुपर्ने बताउनुभयो ।

विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्षप्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।

ओलीले विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोज्नु सरकारको अधिकार भएको जिकिर गर्दै त्यसैलाई आधार बनाएर तत्कालीन सञ्चारमन्त्रीलाई कारबाही गर्नुपर्ने निष्कर्ष उचित नभएको बताउनुभयो ।

त्यस्तै, विघटित प्रतिनिधिसभासम्बन्धी मुद्दाको फैसला गर्न ढिलाइ भएको भन्दै उहाँले सर्वोच्च अदालतको समेत आलोचना गर्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेले धक्का बेहोरे पनि देशको निर्णायक राजनीतिक शक्तिका रूपमा विकास हुने लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो ।