काठमाडौं, मंसिर १ । आम उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा ऐन कार्यान्वयन सुरु गरेको हो । पहिलो चरणमा परीक्षणपछि स्वस्थ ठहरिएका मासुमा छाप लगाउने व्यवस्था गरिएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ संशोधन गरी कार्यान्वयनमा ल्याउनुभएको हो ।
मन्त्री चौधरीले मासुको स्वच्छता र गुणस्तर खाद्य पदार्थको विषय मात्र नभई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बताउनुभयो । उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने सुनिश्चितताका लागि ऐन प्रभावकारी रूपमा कार्यान्वयन गरिएको उहाँको भनाइ छ ।
ऐन कार्यान्वयनको सुरुवात कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने कार्यबाट गरिएको छ ।
ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गर्नेछन् । यसबाट बजारमा बिक्री हुने मासुको स्वच्छता र गुणस्तर कायम हुनुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।
मन्त्रालयले ऐनको कार्यान्वयनलाई प्रारम्भिक अभियानमा मात्र सीमित नराखी निरन्तरता दिने जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्