जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार ११:१७

वित्तीय अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक पद्धति अपरिहार्य : प्रहरी महानिरीक्षक  डा. मनोजकुमार केसी


काठमाडौं, मंसिर १ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेकाे बताउनुभएकाे छ । 

अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसका अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो। “आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान” भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषयवस्तु “वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म” रहेको छ।

सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक केसीले कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण हुनुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था एवं दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गर्नुभएको थियो।

अपराध अनुसन्धान विभागको स्थापना दिवसका अवसरमा आयोजित कार्यशालाले वित्तीय अपराध अनुसन्धानमा संलग्न निकायहरूबीचको सहकार्य अभिवृद्धि गर्नुका साथै अनुसन्धान प्रक्रियालाई थप वैज्ञानिक, प्रविधिमैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।