काठमाडौं, मंसिर १ । गत वर्ष जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनीबाट तहसनहस पारिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई सरकारले यस वर्ष राष्ट्रिय कर दिवसको अवसरमा विशेष सम्मान गरेको छ।
विषम परिस्थितिमा पनि व्यवसायबाट पछि नहटी पुनःस्थापना र सञ्चालनमा जुट्नुभएका गुरुङलाई सरकारले सम्मान गरेसँगै यसले राजनीतिक र व्यावसायिक वृत्तमा चासोसमेत बढाएको छ।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केट लुटपाट र आगजनीको निशानामा परेका थिए। वर्तमान प्रधानमन्त्री बालेन्द्र साहकै निर्देशनमा साे काम भएकाे टिप्पणी हुँदै आएकाे छ ।
आगजनी र लुटपाटबाट अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरे पनि अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले आफ्नो व्यावसायिक यात्रालाई रोक्नुभएन। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दै उहाँले अधिकांश भाटभटेनी सुपरमार्केट एक वर्षभित्रै पुनः सञ्चालनमा ल्याउन सफल हुनुभयो।
आगजनी र लुटपाटबाट व्यवसाय ध्वस्त पार्ने प्रयास भए पनि गुरुङको व्यावसायिक अडान र लगनशीलता भने कमजोर भएन। पुनः सञ्चालनमा आएका भाटभटेनीले हजारौँ नेपालीलाई रोजगारी दिइरहेका छन् भने राज्यलाई उल्लेख्य राजस्वसमेत योगदान गरिरहेका छन्। त्यति मात्र हाेइन गुरुङले भाटभटेनी सञ्चालनमा नआएकाे बेला पनि त्यहाँ काम गर्ने मजदुरलाई न्यूनतम पारिश्रमिक दिएर राख्नुभयाे ।
सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उहाँलाई विशेष सम्मान गर्नुको कारण पनि यही रहेको जनाएको छ। कठिन परिस्थितिमा समेत निरन्तर व्यवसाय सञ्चालन गरेको, हजारौँलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको र नियमित रूपमा कर तिरेर राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको कदरस्वरूप उहाँलाई सम्मान गरिएको हो।
यस सम्मानलाई एउटा व्यवसायीको व्यावसायिक सफलता र धैर्यताको कदरका रूपमा मात्र नभई दृढ अठाेट र संकल्पका अगाडि सबै सीर निहुर्याउन बाध्य हुन्छन् भन्ने उदाहरणका रुपमा पनि लिन सकिन्छ ।
आगजनीले भवन जलाउन सक्यो, लुटपाटले सम्पत्ति नष्ट गर्न सक्यो, तर मीनबहादुर गुरुङको व्यावसायिक हिम्मत र पुनः उठ्ने अठोटलाई कमजोर बनाउन सकेन। अन्ततः त्यही निरन्तरता, धैर्यता र योगदान अगाडि सरकार झुक्याे र सम्मान गर्न बाध्य भयाे । यसलाई सरकारकाे क्षमायाचनाकाे रुपमा पनि बुझ्न सकिन्छ ।
हिजो आगजनीको निशानामा परेको भाटभटेनी आज राज्यकै सम्मानको पात्र बनेको छ। यो घटनाले एउटा सन्देश दिएको छ- व्यवसाय ध्वस्त पार्न सजिलो होला, तर दृढ इच्छाशक्ति र लगनशीलतालाई पराजित गर्न सजिलो हुँदैन।














प्रतिक्रिया दिनुहोस्