काठमाडौं, मंसिर १ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कर योगदान गर्ने १९ विधाका करदाता कम्पनी, संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।
आन्तरिक राजस्व विभागले मंगलबार विशेष कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसअघि १६ विधामा सम्मान गरिँदै आएकोमा यस वर्ष विधा थप गरी १९ पुर्याइएको छ ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।
यस वर्ष सबैभन्दा बढी आयकर दाखिला गर्ने निकायका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । कठिन परिस्थितिमा समेत व्यावसायिक उत्थानशीलता कायम राख्दै राजस्वमा निरन्तर योगदान पुर्याएको भन्दै भाटभटेनीलाई पनि सम्मान गरिएको छ । भाटभटेनीकी सञ्चालक सावित्री गुरुङलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मान गर्नुभएको थियो ।
बैंकिङ क्षेत्रतर्फ नबिल बैंक उत्कृष्ट करदाता बनेको छ भने पर्यटन क्षेत्रबाट सोल्टी होटल लिमिटेड सम्मानित भएको छ । वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सम्मान प्राप्त गरेका छन् ।
त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि सम्मानित भएका छन् ।
ऊर्जामूलक उद्योगतर्फ भोटेकोसी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेडले सम्मान प्राप्त गरेका छन् । व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने राजबहादुर शाह पनि सम्मानित भएका छन् ।
त्यसैगरी, मूल्य अभिवृद्धि कर विवरण तथा कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ । वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड र ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले सम्मान पाएका छन् ।
विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि, जीवन बिमा क्षेत्रतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, निर्जीवन बिमा क्षेत्रतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएका छन् ।
एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनलले सम्मान प्राप्त गरेको छ । यससँगै सरकारले विभिन्न क्षेत्र र कारोबारका आधारमा उत्कृष्ट करदातालाई सम्मान गर्दै कर सहभागिता र राजस्व योगदानको कदर गरेको छ ।














प्रतिक्रिया दिनुहोस्