काठमाडौं, मंसिर १ । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सुरक्षा व्यवस्था कडा बनाएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बीजीबी) का १० प्लाटुन सुरक्षाकर्मी परिचालन गरिएको छ।
सुरक्षा निगरानीका लागि ड्रोन र बडी क्यामेरा प्रयोग गरिएको छ भने सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।
हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा उहाँका समर्थकहरू सक्रिय भएका छन्। प्रतिबन्धित अवामी लिगका समर्थकहरूले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरिरहेको छ।
यसैबीच, बङ्गलादेशका कानूनमन्त्री मोहमद असदुज्जमानले हसिनालाई कानुनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत स्वदेश फर्काइने बताउनुभएको छ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा सन् २०२५ नोभेम्बर १७ मा हसिनालाई मृत्युदण्डको फैसला सुनाइएको थियो। फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा सार्वजनिक गरिएको थियो।
फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा समाप्त भएपछि हसिनाका कानुनी विकल्प सीमित हुने बङ्गलादेशका कानूनमन्त्रीको भनाइ छ। यसैबीच, हसिनाको सम्भावित स्वदेश फिर्तीलाई ध्यानमा राख्दै गोपालगञ्जमा सुरक्षा निगरानी तीव्र पारिएको छ।














प्रतिक्रिया दिनुहोस्