काठमाडौं, मंसिर १ । नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ। भोलिदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा पार्टीले स्थायी कमिटी बैठक बोलाएको हो।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिने एजेन्डा तथा विषयवस्तुमाथि छलफल गरी अनुमोदन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको धारणा निर्माण गरिने आचार्यले जानकारी दिनुभएको छ।
एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ। भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला तथा पालिका तहका प्रतिनिधि र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ठूलो संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ।
पार्टीले राष्ट्रिय भेलालाई वर्तमान राजनीतिक परिस्थितिको समीक्षा, आगामी राजनीतिक कार्यदिशा निर्धारण तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।
राष्ट्रिय कार्यकर्ता भेलापछि मंसिर ४ गते पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेला आयोजना गर्ने एमालेको तयारी छ। त्यसलगत्तै मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय भएको छ।
यससँगै एमाले मंसिर १ देखि ५ गतेसम्म लगातार बैठक, भेला तथा छलफलमा केन्द्रित हुने भएको छ।














प्रतिक्रिया दिनुहोस्