काठमाडौं, कात्तिक ३० । रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आइतबार दिउँसो करिब ४ बजे अनियन्त्रित भई पुलमा ठोक्किएको थियो।
दुर्घटनामा परी यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर, चिकित्सकले दिउँसो ४ः३० बजे नै मृत घोषणा गरेका थिए।
दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्रामका १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।
घाइते आकाशको प्रादेशिक अस्पताल गौरमै उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ।














प्रतिक्रिया दिनुहोस्