काठमाडौं, कात्तिक ३० । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रदेश सरकारले ६ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक स्रोत सुनिश्चित गरिसकेको बताउनुभएको छ ।
मुख्यमन्त्री थापा मगरले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विपद् प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनेदेखि सुरक्षित आवास, जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनासम्मका कामलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभएको हो ।
रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढीपहिरोले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्का बेला प्रदेश सरकार प्रभावित नागरिकको साथमा रहेको र आगामी दिनमा पनि उनीहरूको सुरक्षित भविष्य निर्माणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री थापा मगरले बाढीपहिरोको विपद् लगत्तै प्रदेश सरकार प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा तत्कालीन आवश्यकतासँग सम्बन्धित काममा सक्रिय भएको स्मरण गराउनुभएको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रभावित नागरिकले प्रदेश सरकारको तत्कालीन उपस्थिति र प्रयासलाई स्मरण गर्नुभएको विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “विपद् लगत्तै हामीले गरेका प्रतिबद्धताहरूलाई केवल आश्वासनमा सीमित नराखी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामा विभक्त गरेर कार्यान्वयन गर्दै आएका छौँ ।”
मुख्यमन्त्रीका अनुसार विपद्पछि तय गरिएका अल्पकालीन र मध्यकालीन चरणका कामहरू सम्पन्न भइसकेका छन् । अब प्रदेश सरकारको प्राथमिकता दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा केन्द्रित भएको छ ।
यसअन्तर्गत विपद्बाट प्रभावित परिवारलाई सम्भव र सुरक्षित स्थानमा पुनःस्थापना गर्ने, क्षतिग्रस्त घर, सडक, पुललगायतका भौतिक संरचनाको पुनर्निर्माण गर्ने तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी एकीकृत बस्ती विकास गर्ने योजना प्रदेश सरकारले अघि सारेको उहाँले बताउनुभएको छ ।
जोखिमयुक्त बस्तीको व्यवस्थापन र प्रभावित परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय तथा सहकार्य गरिने पनि मुख्यमन्त्री थापा मगरको भनाइ छ । त्यसका लागि विभिन्न सम्भावित स्थानको छनोट गरी आवश्यक प्राविधिक तथा भौगर्भिक अध्ययनसमेत तत्काल प्रारम्भ गर्ने तयारी गरिएको उहाँले उल्लेख गर्नुभएको छ ।
पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन गरिएको जानकारी दिँदै उहाँले प्रदेश सरकारका विकाससम्बन्धी कार्यालयहरूमा विनियोजित बजेटबाट आवश्यक कार्यक्रम मिलान तथा व्यवस्थापन गरी ६ अर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चित गरिएको स्पष्ट पार्नुभएको छ । “यी प्रतिबद्धता कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले आफ्ना विकासे कार्यालयहरूमा विनियोजित बजेटबाट आवश्यक कार्यक्रम मिलान तथा व्यवस्थापन गरी ६ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक स्रोत सुनिश्चित गरिसकेको छ,” उहाँले फेसबुकमार्फत सार्वजनिक गर्नुभएको प्रतिबद्धतामा भन्नुभएको छ, “अब हामी योजनाबद्ध रूपमा त्यसको कार्यान्वयनमा अघि बढिरहेका छौँ ।”
मुख्यमन्त्री थापा मगरले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि उनीहरूलाई सुरक्षित जीवन, आवास, जीविकोपार्जन र भविष्यप्रतिको भरोसा दिलाउनु दीर्घकालीन जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।
उहाँले विपद् व्यवस्थापनलाई राहत वितरणमा मात्र सीमित नराखी प्रभावित नागरिकको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने र भविष्यमा सम्भावित जोखिमबाट सुरक्षित राख्ने गरी पुनर्निर्माणका काम अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । “हामी केवल बोलिरहेका छैनौँ, प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेका छौँ,” मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ, “विपद् प्रभावित नागरिकको पीडामा सरकार सधैँ साथमा छ र उनीहरूको सुरक्षित भविष्य निर्माणका लागि हाम्रो प्रयास निरन्तर रहनेछ ।”
बागमती प्रदेश सरकारले अब विपद् प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना, सुरक्षित बस्ती विकास र भौतिक संरचनाको पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अघि बढाउने उहाँले जानकारी दिनुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्