काठमाडौं, मंसिर १ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको प्रतिस्पर्धामा विजयी हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ ।
त्यसैले दुवै टोली पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसरसमेत हो । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले यस संस्करणको लिग चरणको पहिलो भेटमा पनि ७ विकेटको जित निकालेको थियो ।
ती दुवै खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १०० रनभित्रै समेटेको थियो । आजको खेलमा पनि जित निकाल्न सके लुम्बिनीले सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जितको ह्याट्रिक पूरा गर्नेछ ।
लिग चरणमा दुवै टोलीले समान पाँच खेल जितेका छन् । सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको छ भने लुम्बिनीले एक खेल मात्र हारेको छ । एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीले एक अंक थप पाएको थियो ।
सुदूरपश्चिमका लागि अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिने अवसरसमेत हुनेछ भने लुम्बिनी लगातार दोस्रो पटक उपाधि नजिक पुग्ने लक्ष्यमा हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । त्यसका लागि उसले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।














प्रतिक्रिया दिनुहोस्