काठमाडौं, मंसिर १ । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणमा आर्थिक सहकार्य, हवाई सम्पर्क, ऊर्जा व्यापार र विकास आयोजनासम्बन्धी सम्झौता तथा समझदारीलाई प्राथमिकता दिइने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्नुहुनेछ । दुई प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै वार्ता हुने तयारी छ ।
भ्रमणका क्रममा नेपाल र भारतबीच प्रस्तावित आर्थिक प्याकेज, हवाई प्रवेश मार्ग तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुनेछ । विशेषगरी महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने नेपालको लामो समयदेखिको मागलाई महत्त्वका साथ उठाइने अपेक्षा गरिएको छ ।
नेपालले अन्तर्राष्ट्रिय उडान सहज बनाउन महेन्द्रनगर, भैरहवा, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो समय महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने प्रस्तावमा भारत सकारात्मक देखिएको नेपाली अधिकारीहरूले बताएका छन् ।
यस्तै, भ्रमणका क्रममा भारतको सहयोगमा निर्माण भएका केही आयोजना उद्घाटन तथा नयाँ आयोजनाको शिलान्यास गर्ने तयारी छ । अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलाको पुल र भैरहवास्थित एकीकृत जाँच चौकी उद्घाटनको सूचीमा रहने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहले मंसिर ७ गते नेपाल र भारतका उद्योगी तथा व्यवसायीको भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । उहाँको भ्रमणलाई आर्थिक सहकार्य र लगानी विस्तारमा केन्द्रित गर्ने सरकारको तयारी छ ।
नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गर्दै आएको छ । यसका अतिरिक्त सीमापार पेट्रोलियम पाइपलाइन निर्माण तथा विस्तार, तीन सहरबीच सिधा हवाई सम्पर्क र धार्मिक तथा पर्यटकीय सर्किट विकासका विषय पनि नेपालको प्रस्तावमा छन् ।
ऊर्जा व्यापार पनि भ्रमणको महत्त्वपूर्ण एजेन्डा बन्ने देखिएको छ । नेपालले भारतमा वार्षिक एक हजार ६५० मेगावाटभन्दा बढी विद्युत् बिक्री गर्ने अनुमति विस्तार गर्न चाहेको छ । त्यस्तै, बंगलादेशमा भइरहेको ४० मेगावाट विद्युत् निर्यातको परिमाण बढाउने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
भारतका प्रतिष्ठित शैक्षिक संस्था आईआईएम र आईआईटीका शाखा नेपालमा स्थापना गर्ने प्रस्तावसमेत नेपालले अघि सारेको छ । क्रिकेटलगायत खेलकुदमा प्राविधिक तथा लजिस्टिक सहयोग र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्यका विषय पनि नेपालको प्राथमिकतामा छन् ।
यद्यपि, नेपाल–भारतबीच लामो समयदेखि विवादित रहेका सीमा समस्या, बढ्दो व्यापार घाटा, व्यापार तथा पारवहन व्यवस्था र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा भ्रमणका क्रममा ठोस प्रगति हुने सम्भावना न्यून रहेको अधिकारीहरूको आकलन छ ।
त्यस्तै, सन् २०२० देखि रोकिएको नेपाली नागरिकको भारतीय सेनामा भर्तीको विषयमा पनि तत्काल ठोस सहमति हुने सम्भावना कम रहेको बताइएको छ ।
भारतले नेपालमा जलविद्युत् क्षेत्रमा आफ्नो लगानी र संलग्नता विस्तार गर्न चाहेको छ । भारतीय सरकारी कम्पनी एनएचपीसी संलग्न आयोजनासहित निर्माणाधीन परियोजनामा देखिएका अवरोध हटाउने विषय पनि भारतको चासोमा रहेको छ ।
यसैगरी, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली तथा भारतको सहयोगमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा पनि दुई देशबीच छलफल हुने तयारी छ ।














प्रतिक्रिया दिनुहोस्