काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता र उपलब्धिमाथि प्रश्न उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणलाई समेत व्यङ्ग्य गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत कोप–३१ मा सहभागी हुन गएको ठूलो नेपाली टोली, त्यसबाट प्राप्त उपलब्धि, रास्वपाका सांसदहरूको चीन भ्रमण तथा लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको साँगा–धुलिखेल सडकको अवस्थालाई जोडेर सरकारमाथि कटाक्ष गर्नुभएको हो ।
बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘कोप ३१ मा जलवायु १०० टोली हावा खाएर फर्कनासाथ सांसदको टोली चीन पुगिसकेछ। तातोपानी मात्र पिएर आउँछन् कि नाका खुलाएर? तीन प्रम पचाएको धुलिखेल खावा बाटोको छारोले बालेनको पनि आँखा छोपे जस्तो छ। नाकाको के कुरा ?’
उहाँको उक्त अभिव्यक्तिले जलवायु सम्मेलनमा ठूलो संख्यामा सहभागी नेपाली प्रतिनिधिको औचित्य, चीन भ्रमणमा गएको सांसद टोलीको उद्देश्य र सरकारको प्राथमिकतामाथि प्रश्न उठाएको छ ।
टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको कोप–३१ मा नेपालबाट पाँच जना मन्त्री र १६ जना सांसदसहित ठूलो संख्यामा प्रतिनिधिहरू सहभागी भएका छन् । सम्मेलनमा सहभागी हुने मन्त्रीहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी,शिक्षामन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता रहनुभएको छ ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको औपचारिक प्रतिनिधिमण्डलको विवरणअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा कृषि, वन तथा वातावरणमन्त्री चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत सरकारी अधिकारीहरू सहभागी हुनुभएको थियो ।
मन्त्रीहरूमध्ये खनाल र चौधरीलाई मुख्य सम्मेलन तथा वार्तामा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी दिइएको थियो भने अर्थमन्त्री वाग्ले, शिक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री मेहता विभिन्न साइडलाइन कार्यक्रमका लागि सहभागी हुनुभएको विवरण सार्वजनिक भएको छ ।
त्यस्तै, सम्मेलनमा सहभागी सांसदहरूमा अशोककुमार चौधरी, अर्जुनकुमार कार्की, आशिष गजुरेल, कमल सुवेदी, धर्म केसी, नीता घलानी, परशुराम तामाङ, प्रमिला कुमारी गच्छदार, राम लामा, राजेन्द्रलक्ष्मी गैरे, राधिका रम्तेल, सरस्वती लामा, सागर ढकाल, सुम्निमा उदास, सुनीलबहादुर थापा र श्रीराम न्यौपाने रहनुभएको थियाे ।
यति ठूलो संख्यामा मन्त्री, सांसद र सरकारी प्रतिनिधि सहभागी भए पनि नेपालले उठाएका जलवायु परिवर्तनका मुद्दा कति प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समेटिए भन्ने विषयमा भने बहस भइरहेको छ ।
नेपालले हिमाली क्षेत्रलाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ताको छुट्टै प्राथमिकतामा राख्नुपर्ने, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने तथा जलवायुजन्य विपद्बाट भएको क्षति र नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने विषय उठाउँदै आएको छ ।
नेपाल र भुटानले संयुक्त रूपमा ‘१.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको हिमाली क्षेत्रमा पर्ने प्रभाव’ सम्बन्धी छुट्टै एजेन्डा समावेश गर्न प्रस्ताव गरे पनि त्यो औपचारिक कार्यसूचीमा समावेश हुन सकेन ।
सम्मेलन नोभेम्बर २० सम्म जारी रहने भएकाले अन्तिम निर्णय र उपलब्धिको पूर्ण मूल्यांकन हुन बाँकी नै छ । तर, नेपालको मुख्य माग नै औपचारिक एजेन्डामा समावेश हुन नसक्नुले ठूलो प्रतिनिधिमण्डलको सहभागिता र त्यसको उपलब्धिबारे प्रश्न उठ्ने अवस्था भने सिर्जना गरेको छ ।
बाँस्कोटाले आफ्नो व्यङ्ग्यमा रास्वपाका २० सदस्यीय टोलीको चीन भ्रमणलाई पनि जोड्नुभएको छ । उहाँले टाेली घुमेर ताताेपानी मात्रै आएर आउँछ कि बन्द रहेकाे नेपाल-चीन सीमानाकाे ताताेपानी नाका पनि खुलाएर आउँछ भन्दै उहाँले प्रश्न गर्नु भएकाे छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली नोभेम्बर १५ देखि १२ दिने चीन भ्रमणमा गएको हो । भ्रमणमा सहभागी सांसदहरूमा हरि ढकाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेश कुमार सापकोटा र गजला शमिम मिकरानी रहनुभएको छ । त्यस्तै, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रत्न थापा पनि टोलीमा हुनुहुन्छ ।
रास्वपाका अनुसार भ्रमणका क्रममा चीनको सुशासन प्रणाली, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक सहकार्यका विषयमा छलफल हुनेछ । तर यसमा कुनै ताेकिएका ठोस कार्यक्रम भने छैनन् ।
पार्टीले भ्रमणलाई दुई देशबीचको राजनीतिक संवाद र विकास अनुभव आदानप्रदानको अवसरका रूपमा व्याख्या गरेको छ । तर, एकातिर देशभित्रका विकास आयोजना र पूर्वाधार निर्माणको अवस्था कमजोर रहँदा, कानुन निर्माणमा ढिलाई हुने भन्दै सरकारले धमाधम अध्यादेश ल्याउँदा कानुन बनाउने मूल जिम्मवारीमा रहेका ठूलो संख्यामा सांसद विदेश भ्रमणमा निस्किएको विषयले सार्वजनिक वृत्तमा बहस जन्माएको छ ।
बाँस्कोटाले आफ्नो व्यङ्ग्यमा साँगा–धुलिखेल सडकको दयनीय अवस्थालाई पनि प्रधानमन्त्री बालेन्द्र साहसँग जोड्नुभएको छ ।काठमाडौं उपत्यकाबाट पूर्वी नेपाल तथा चीनसँगको सीमा नाका जोड्ने अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारको काम लामो समयदेखि सम्पन्न हुन सकेको छैन । सडक विस्तारमा भएको ढिलाइका कारण यात्रु, स्थानीय बासिन्दा र व्यवसायीले वर्षायाममा हिलो तथा हिउँदमा धुलोको समस्या भोग्दै आएका छन् ।
सूर्यविनायक–धुलिखेल सडक विस्तारअन्तर्गत साँगा–धुलिखेल खण्डको आठ किलोमिटर सडक निर्माणका लागि २०७९ मंसिर २७ गते सम्झौता भएको थियो । २०८२ मंसिर २५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजना निर्धारित समयमा पूरा हुन नसकेपछि एक वर्ष म्याद थप गरिएको छ ।
आयोजना अधिकारीहरूका अनुसार अक्टोबर ३० सम्म साँगा–धुलिखेल खण्डको भौतिक प्रगति ७४ प्रतिशत पुगेको थियो । त्यस्तै, सूर्यविनायक–साँगा खण्डको प्रगति ५४ प्रतिशत रहेको विवरण सार्वजनिक भएको थियो । यसले निर्माणमा केही प्रगति भए पनि समग्र सडक विस्तार अझै सम्पन्न हुन नसकेको देखाउँछ ।
काठमाडौं प्रवेश गर्ने प्रमुख नाकामध्ये एक साँगा–धुलिखेल सडकको अवस्था सुधार हुन नसक्दा दैनिक आवतजावत गर्ने यात्रुले सास्ती भोग्नुपरेको छ । निर्माणाधीन सडकमा धुलो, हिलो र जामको समस्या कायमै रहँदा राजधानी प्रवेश गर्ने यात्रुका लागि यो मार्ग सहज बन्न सकेको छैन ।
बाँस्कोटाले यही अवस्थालाई प्रधानमन्त्री साहसँग जोड्दै धुलिखेल–खावासम्मको सडकको धुलोले प्रधानमन्त्रीको समेत आँखा छोपेको जस्तो देखिएको व्यङ्ग्य गर्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्