काठमाडौं, मंसिर १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने दृढ विश्वास व्यक्त गर्नुभएको छ ।
अखिल नेपाल किसान महासंघ, केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बिश्वास ब्यक्त गर्नुभएको हो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा पार्टी दृढतापुर्वक अगाडि बढ्ने बताउनु भयो ।
नेकपा एमाले अहिले पनि सबैभन्दा मजबुत, देशभक्त, लोकतान्त्रिक तथा स्पष्ट दृष्टिकोण र सुदृढ संगठन रहेको पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले दुनियाँले नसोचेको सफलता हासिल गर्ने ठोकुवा पनि गर्नुभयो । एमालेले लोकतान्त्रिक प्रक्रियाबाट नभई आगजनी, तोडफोड, आतङ्क, बलजफ्ती र उपद्रवका कारण धक्का खाएको उल्लेख गर्दै उहाँले देशमा सधै आतङ्कको राज नचल्ने बताउनु भयो ।
पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले यतिबेलाका ‘दुई कार्यभार र पन्ध्र काम’ निर्धारण गरेको जानकारी गराउँदै अध्यक्ष ओलीले आन्दोलन र स्थानीय तह निर्वाचनका ती कार्यभार पूरा गर्ने तयारीमा लाग्नसमेत निर्देशन दिनुभयो । अध्यक्ष ओलीले निर्वाचनमा हामी जित्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न महासंघका नेता–कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

‘नेपालको कम्युनिष्ट आन्दोलन र एमालेलाई सिद्धाउन के–केसम्म गरिएन ?’ पञ्चायतकालदेखि निकट विगतसम्म स्मरण गर्दै अध्यक्ष ओलीले अफ्ठ्यारोसँग जुधेर अगाडि बढ्न बानी बसिसकेको बताउनु भयो । उहाँले कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ भन्दै तयार रहन पनि सवैलाई आग्रह गर्नुभयो ।
नेपालको किसान आन्दोलन राजनीतिक परिवर्तन सफल बनाउने जगका रूपमा रहेको र कयौं किसान नेताहरूले अमूल्य योगदानका साथै सहादत प्राप्त गरेको उहाँले स्मरण गर्नुभयो । अध्यक्ष ओलीले किसान महासंघलाई विस्तार गर्ने बृहत आधारहरू रहेको र त्यसका लागि सक्रियता आवश्यक रहेको बताउँदै आफ्नो विगतको गौरवलाई सम्झेर त्यसलाई कायम गर्न विभिन्न क्षेत्रका किसानहरूलाई महासंघमा गोलबन्द गर्न आग्रह गर्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री नियुक्त हुनुभएका महासंघका स्थायी कमिटी सदस्यहरू क्रमशः रामप्रसाद मेहता र बलबहादुर हमाल तथा राष्ट्रिय सभामा संसदीय दलका नेता महासंघका अध्यक्ष प्रेम दङ्गाललाई महासंघका तर्फबाट सम्मान गर्नुभयो ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दङ्गालको अध्यक्षतामा भएको बैठकमा सहभागीहरूले जिल्ला र प्रदेश अधिवेशनका साथै किसानका समस्याका बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकमा नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा महासंघका इञ्चार्ज गिरधारीलाल न्यौपाने अतिथिका रूपमा उपस्थिति रहेको थियो । बैठक सञ्चालन गर्नुभएकी महासंघका महासचिव सरिता भुसालले महासंघ ७३ जिल्ला, ५३९ पालिका र एकहजार ३६५ वडामा क्रियाशील रहेको र यसका ५० हजार ३४८ सदस्य रहेको जानकारी गराउनुभयो ।














प्रतिक्रिया दिनुहोस्