जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १५:४९

हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति, ५६ मेगावाट निर्यात पनि खुला


काठमाडौं, मंसिर १ । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न अनुमति पाएको छ । साथै, नेपालमा उत्पादित ५६ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न पनि अनुमति प्राप्त भएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा बिजुली आयात गर्न अनुमति दिएको हो ।

अनुमतिअनुसार नेपालले आजदेखि आगामी साउन १५ गतेसम्म दैनिक १७ घण्टासम्म बिजुली आयात गर्न पाउनेछ । बिहान ५ देखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन ।

कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट बिजुली आयात हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आयातको अनुमति प्राप्त भएसँगै आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन सहज हुने बताउनुभएको छ ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसले आगामी हिउँदमा विद्युत् आपूर्तिमा थप चुनौती सिर्जना गर्ने प्राधिकरणको आकलन छ ।

प्राधिकरणका अनुसार गत वर्षको माग र उत्पादनको अवस्थालाई आधार मान्दा पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर बिजुली आयात गर्नुपर्ने देखिएको छ ।

त्यस्तै, विद्युत्को उच्च माग हुने समयमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम बिजुली आयात गरे पुग्ने आकलन गरिएको छ ।

आगामी वैशाखदेखि नदीमा पानीको बहाव बढ्दै जाँदा आन्तरिक विद्युत् उत्पादन वृद्धि हुने र आयात क्रमशः घट्दै निर्यात सुरु हुने प्राधिकरणको अपेक्षा छ ।

५६ मेगावाट बिजुली निर्यात गर्न अनुमति

प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट बिजुली भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले आजदेखि आगामी साउन १६ गतेसम्म उक्त परिमाणको बिजुली निर्यात गर्न पाउनेछ ।