ललितपुर, मंसिर १ । ललितपुरको नख्खुबाट प्रहरीले स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २२० रुपैयाँ बरामद गरेको छ ।
नख्खु चोकतर्फ जाँदै गरेको बा.प्र. १–०२७ च २७६५ नम्बरको भ्यानमा बोराभित्र राखिएको अवस्थामा उक्त रकम बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौँ महानगरपालिका–१० का २९ वर्षीय प्रज्ज्वल रिजाल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले स्रोत नखुलेको रकमसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
बरामद रकमको स्रोत र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्