जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १९:३२

एमालेले केन्द्रीय कमिटी बैठक एक दिनअघि सार्‍यो, मंसिर ४ गते बस्ने


काठमाडौं, मंसिर १ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक एक दिनअघि सारेको छ ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले मंसिर ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको हो । एमालेका उपमहासचिव लेखराज भट्टले बैठकको निर्णयबारे जानकारी दिनुभयो ।

बैठकले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामा प्रस्तुत गरिने एजेन्डासमेत पारित गरेको छ । राष्ट्रिय भेलाको मुख्य एजेन्डा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालन रहने उपमहासचिव भट्टले बताउनुभयो ।

भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र आगामी कामबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै, उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रस्तुत गर्नुहुनेछ ।

पार्टीको शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र महासचिवले प्रस्तुत गर्ने भट्टले जानकारी दिनुभयो ।

राष्ट्रिय भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले स्थायी कमिटी बैठकमा जानकारी गराउनुभएको थियो ।

भेलामा पार्टी पुनर्गठनको विषयमा भने छलफल नहुने भट्टले बताउनुभयो । उक्त विषय केन्द्रीय कमिटीले यसअघि नै टुंग्याइसकेको उहाँको भनाइ छ ।