जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १९:१९

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा


काठमाडौं, मंसिर १ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासङ्घले समाचार कक्षमै प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नहुनु, पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन तथा लोककल्याणकारी विज्ञापनबापतको रकम भुक्तानी नहुनुलगायतका विषय उठाउँदै आन्दोलन घोषणा गरेको हो ।

महासङ्घले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम छ ।

त्यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ । मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघ–संस्थासँग छलफल गर्ने महासङ्घले जनाएको छ ।

मंसिर ९ गते जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने कार्यक्रम तय गरिएको छ ।

महासङ्घले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।