काठमाडौं, मंसिर १ । निरोशन डिकवेलाको उत्कृष्ट अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा विकेटकिपर ब्याटर निरोशन डिकवेलाले अविजित ५९ रन बनाए । उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए । यी दुईबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो ।
लुम्बिनीले २४ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो । ओपनर डार्सी सर्ट शून्य र आसिफ शेख ४ रनमा आउट भएका थिए । त्यसपछि डिकवेला र रोहितले टोलीलाई सम्हाले । दिलीप नाथ १० रनमा अविजित रहे । उनले विजयी छक्का प्रहार गरेका थिए ।
सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले बलिङ गरेको लुम्बिनीले सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमा सीमित गरेको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र एक छक्का प्रहार गरे । इशान पाण्डेले २७ रन जोडे । यी दुईबीच चौथो विकेटका लागि ६४ रनको साझेदारी भएको थियो ।
सुदूरपश्चिमको सुरुवात भने निकै खराब रह्यो । जर्ज मन्से पहिलो बलमै आउट भए भने तानुका दबारे पनि सस्तैमा पेभेलियन फर्किए । ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्र र इशानले सम्हालेका थिए ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १२ रन खर्चेर दुई विकेट लिए । शेर मल्लले पनि दुई विकेट हात पारे । किशोर महतो र अभिषेक गौतमले एक–एक विकेट लिए ।
यस जितसँगै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ । उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको लुम्बिनीले अब फाइनल खेल्नेछ ।
पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । उसले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।














प्रतिक्रिया दिनुहोस्