काठमाडौं, मंसिर २ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ ।
लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमाण्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि निर्णायक हुनेछ । खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।
इलिमिनेटरको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको हो । दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्नेछ ।
काठमाण्डुले लिग चरणका सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेको थियो । सुरुवाती तीन खेल लगातार जितेर राम्रो लय बनाएको काठमाण्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो ।
यता, चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंक जोडेको थियो । चौथो स्थानमा रहेर प्लेअफमा पुगेको चितवन काठमाण्डुलाई हराउँदै उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ ।
आठ टोली सहभागी प्रतियोगिताको लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स पहिलो क्वालिफायर जित्दै फाइनलमा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले १० अंक जोडेको थियो ।
विराटनगर किङ्स र कर्णाली याक्स समान ६ अंकसहित तथा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स समान चार अंकसहित लिग चरणबाटै बाहिरिएका छन् ।














प्रतिक्रिया दिनुहोस्