जनता टाइम्स

२ मंसिर २०८३, बुधबार ०९:५३

पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुँदै 


काठमाडौं, मंसिर २। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुग्नुभएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिटमा आज पहिलो सुनुवाइ हुने भएको छ। मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा चढेको छ।

यसअघि सोमबारका लागि पेसी तोकिएको भए पनि छठ पर्वका अवसरमा सरकारले थप सार्वजनिक बिदा दिएपछि अदालतको नियमित कामकारबाही प्रभावित भएको थियो। सोही कारण सोमबार हुन नसकेको सुनुवाइ बुधबारका लागि सारिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

सरकारको निर्णयविरुद्ध कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। उहाँले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न तथा नवनियुक्त महानिरीक्षकलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्नसमेत माग गर्नुभएको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।

सरकारको निर्णयलाई चुनौती दिँदै अदालत पुग्नुभएका कार्कीको रिटमाथि हुने पहिलो सुनुवाइलाई चासोका साथ हेरिएको छ। सर्वोच्च अदालतले उहाँको मागअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषय सुनुवाइपछि तय हुनेछ।