जनता टाइम्स

२ मंसिर २०८३, बुधबार ०९:०८

गुल्मीमा निवासमै प्रहरी इन्स्पेक्टर मृत फेला


काठमाडौं, मंसिर २ । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला पर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आउनुभएका केसी मंगलबार बिहान मृत अवस्थामा फेला पर्नुभएको हो।

बिहान अबेरसम्म पनि उहाँ नउठेपछि प्रहरीले निवासमा पुगेर जाँच गर्दा अचेत अवस्थामा फेला पारेको थियो। निवासको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उहाँलाई बाहिर निकालेको थियो।

त्यसपछि तत्काल अस्पताल पुर्‍याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

सुर्खेतको छिन्चु स्थायी घर हुनुभएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आउनुभएको थियो। उहाँले २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो।

प्रहरी निरीक्षक केसीको मृत्युको वास्तविक कारण भने खुल्न बाँकी रहेको छ। उहाँको शवको पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ।