जनता टाइम्स

२ मंसिर २०८३, बुधबार १३:२०

विपक्षीलाई ओलीको चुनौती– ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ’


काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फेरि सरकारमा जाने दाबी गर्नुभएको छ ।

काठमाडौंमा बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पुनः सरकारको नेतृत्वमा पुग्ने बताउनुभएको हो ।

उहाँले एमाले यसअघि पनि संघर्ष गरेर जनताको समर्थनबाट सरकारमा पुगेको भन्दै कसैको कृपा वा आशीर्वादबाट सत्तामा नगएको जिकिर गर्नुभयो ।

‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । जनताको कृपाले गएका हौँ,’ उहाँले भन्नुभयो, ‘अरू कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।’

अध्यक्ष ओलीले एमाले फेरि सरकारमा जाने भन्दै विपक्षीहरूलाई कान खोलेर सुन्न चुनौती दिनुभयो ।

‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले ती विकासका कामलाई फेरि अगाडि बढाउँछ,’ उहाँले भन्नुभयो ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना नछाड्ने पनि बताउनुभयो । बरु अझ स्पष्ट दृष्टिकोणका साथ उक्त सपना साकार पार्न अघि बढ्ने उहाँको भनाइ थियो ।