काठमाडौँ, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कुनै कमजोर मनोबल भएको पार्टी नभई देश निर्माणको स्पष्ट दृष्टिकोण, संकल्प र प्रतिबद्धता बोकेको पार्टी भएको बताउनुभएको छ।
पार्टीको राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देश बनाउने उद्देश्यका साथ स्थापित पार्टी भएकाले कसैले कमजोर ठानेर चुनौती दिन खोज्दैमा विचलित नहुने स्पष्ट पार्नुभयो। ‘नेकपा एमाले कुनै हुतिहारको पार्टी होइन, देश बनाउने पार्टी हो यो,’ उहाँले भन्नुभयो, ‘एमाले कसैको हावादारी कुरा र धम्कीबाट हल्लिने पार्टी होइन। हामी संघर्ष गरेर आएका हौँ, जेलनेल भोगेर आएका हौँ।’
अध्यक्ष ओलीले एमालेको राजनीतिक इतिहास, संघर्ष र योगदानलाई स्मरण गराउँदै पार्टीलाई कमजोर बनाउने तथा नेतृत्वलाई विस्थापित गर्ने सपना नदेख्नसमेत चुनौती दिनुभयो। एमालेविनाको देश बनाउने र केपी ओलीविनाको एमाले निर्माण गर्ने प्रयास सफल नहुने उहाँको भनाइ थियो। ‘केहीले एमालेविनाको देश बनाउने सपना देखे, त्यसका लागि केपी ओलीविनाको एमालेका कुरा गरे। तर त्यो केही पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘नेकपा एमाले छलफल गर्छ, एकताबद्ध भएर अघि बढ्छ।’
उहाँले राष्ट्रिय भेला केवल औपचारिक जमघट नभई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने, संगठनलाई एकताबद्ध बनाउने र निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने महत्वपूर्ण अवसर भएको बताउनुभयो। ‘यो भेला एउटा संकल्पको भेला हो, एउटा प्रतिबद्धताको भेला हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता हो। यो प्रतिबद्धतालाई हामीले त्यागेका छैनौँ। सबै नेपाली सुखी हुनुपर्छ, नेपाल समृद्ध हुनुपर्छ।’
अहिले देशको समृद्धिको यात्रा रोकिएको टिप्पणी गर्दै उहाँले त्यसलाई पुनः अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। एमालेले सुशासन, विकास र राष्ट्रिय समृद्धिको अभियानलाई आफ्नो राजनीतिक उद्देश्यका रूपमा लिएको उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारका जिम्मेवार पदाधिकारीबाट धम्कीपूर्ण अभिव्यक्ति आइरहेको आरोप लगाउनुभयो। प्रहरी महानिरीक्षकबाट आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थुनिदिने आशयका अभिव्यक्ति आएको प्रसंग उल्लेख गर्दै उहाँले राजनीतिक नेतृत्वलाई धम्की दिने शैलीप्रति आपत्ति जनाउनुभयो। ‘हामी जेलनेल भोगेर आएका हौँ। यिनीहरू जन्मनुभन्दा अघिदेखि संघर्ष गरेर आएका हौँ,’ उहाँले भन्नुभयो, ‘छ महिनाका लागि जागिर खाने एउटा सिपाहीँले हामीमाथि मजाक गर्ने ?’
गृहमन्त्रीले फाइल खोल्दै गरेको र थुनिदिने अभिव्यक्ति दिएको प्रसंगमा समेत उहाँले चुनौतीपूर्ण शैलीमा आफ्नो धारणा राख्नुभयो। ‘हुति भए थुन्नु नि, गल्ती गरेको भए ऊ पनि थुनिएला नि,’ उहाँले भन्नुभयो।
यस्ता अभिव्यक्ति र गतिविधिबाट एमाले नतर्सिने उल्लेख गर्दै उहाँले पार्टीको राजनीतिक शक्ति र संगठनात्मक आधार कमजोर नभएको दाबी गर्नुभयो। सामाजिक सञ्जालमा गरिने टिप्पणी र मजाकको जवाफ एमालेले आफ्नो राजनीतिक गतिविधि र संगठनात्मक सामर्थ्यमार्फत दिने उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई पार्टीका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो। विशेषगरी आगामी स्थानीय तहको निर्वाचनमा एमाले विजयी हुने दाबी गर्दै उहाँले बलियो संगठन र एकताबद्ध पार्टी पंक्तिका साथ निर्वाचनमा होमिने बताउनुभयो। ‘आउने स्थानीय निर्वाचन हामीले जित्नेछौँ। हामी एउटा सशक्त संगठन लिएर निर्वाचनमा जाँदै छौँ,’ उहाँले भन्नुभयो।
अन्य राजनीतिक समूहको संगठनात्मक अवस्थामाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेसँग प्रतिस्पर्धा गर्न आउनेहरू क्लब बनाएर निर्वाचनमा आउन लागेको व्यङ्ग्यसमेत गर्नुभयो। एमाले भने देशव्यापी संगठन, राजनीतिक अनुभव र स्पष्ट कार्यदिशासहित प्रतिस्पर्धामा उत्रिने उहाँको दाबी थियो।
उहाँले केही दिनमै एमाले देशको भविष्य र विकासको प्रमुख राजनीतिक शक्ति भएको कुरा प्रमाणित हुने जिकिरसमेत गर्नुभयो।पार्टीको राष्ट्रिय भेला मंसिर २ र ३ गते दुई दिनसम्म सञ्चालन हुनेछ। भेलामा केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला तथा पालिका तहका पार्टी पदाधिकारी, जनसंगठनका प्रतिनिधि र विभिन्न तहका जनप्रतिनिधिसहित तीन हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ।
पार्टीले भेलालाई आगामी स्थानीय तहको निर्वाचनको तयारी, संगठन परिचालन, वैचारिक तथा संगठनात्मक एकता सुदृढीकरण र केन्द्रीय कमिटीबाट पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनसँग जोडेको छ। भेलामा पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको छ।
राष्ट्रिय भेलामार्फत पार्टी पंक्तिमा एकीकृत राजनीतिक सन्देश प्रवाह गर्दै आगामी राजनीतिक चुनौतीको सामना गर्ने र निर्वाचनमा संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने एमालेको तयारी छ।













प्रतिक्रिया दिनुहोस्