जाजरकोट, असोज १४ । ससुराको हत्या गरेको आरोपमा जाजरकोट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–५ पाँगा निवासी शर्मिला शाही रहेकी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिनुभएको छ।
गत साउन ११ गते दिउँसो ७५ वर्षीय गंगाराम शाही जुनिचाँदे गाउँपालिका–५ पाँगास्थित आफ्नै घरमा मृत अवस्थामा भेटिनुभएको थियो। उहाँको घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।
गंगारामको हत्यामा बुहारी शर्मिलाको संलग्नता रहेको भन्दै उहाँका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले शर्मिलालाई असोज ८ गते घरबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार शर्मिलालाई जिल्ला अदालत जाजरकोटबाट १० दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ। ससुराको हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।












प्रतिक्रिया दिनुहोस्